नेपालमा लगानी भित्राउन बेलायतका एनआरएनलाई प्रधानमन्त्री देउवाको आग्रह



लण्डन । नेपालमा लगानी भित्राउन बेलायतका गैर आवासीय नेपाली(एनआरएन)लाई प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन् ।

कोप २६ सम्मेलनमा भाग लिन लण्डन आएका प्रधानमन्त्री देउवाले एनआरएनएले गरेको कार्यक्रममा नेपालमा लगानी गर्दा सुविधा पाउने भन्दै आफूले सिकेको सिपलाई नेपालमा प्रयोग गर्न अनुरोध गरे ।

उनले नेपालमा कोभिड १९ विरुद्धको खोप भित्राउनको लागि एनआरएनले महत्वपूर्ण भूमिका खेलेको बताए ।

यस्तै प्रधानमन्त्री देउवाले गोर्खा सैनिकहरुको समस्यालाई समाधान गर्न आफू लाग्ने जानकारी गराए । बेलायती केही संसद्लाई आफूले भेटेर कुरा राख्ने कुराको जानकारी प्रधानमन्त्री देउवाले दिएका हुन् ।

स्कटल्याण्डको ग्लास्गो सहरमा हुने कोप २६ सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा लण्डन पुगेका हुन् । बेलायतमा नेपाली समुदायलाई सम्बोधन गरेपछि देउवा लण्डनबाट ग्लास्गो सहर लागेका छन् । उनले सम्मेलनमा सम्बोधन गर्नुका साथै द्धिपक्षिय भेट गर्ने छन् ।

देउवाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुने समय तय भइसकेको छ । प्रधानमन्त्री बनेपछि देउवाको यो पहिलो विदेश भ्रमण हो ।


क्लिकमान्डु