आरबीआई गभर्नर शक्तिकान्त दासको कार्यकाल ३ वर्ष थपियो



काठमाडौं । भारतीय रिजर्ब बैंक(आरबीआई)का गभर्नर शक्तिकान्त दासको कार्यकाल ३ वर्ष थपिएको छ ।

भारत सरकारले दासको कार्यकाल ३ वर्ष थप्ने निर्णय गरेको हो । आरबीआईको गभर्नरको कार्यकाल ३ वर्षको हुने व्यवस्था छ । दासको कार्यकाल डिसेम्बर १० मा सकिन लागेको थियो ।

दासले २०१८ डिसेम्बर १० देखि आरबीआईको गभर्नरको पद सम्मालेका थिए । दास आरबीआईका २५ औं गभर्नर हुन् । दासभन्दा अगाडिका आरबीआई गभर्नर उर्जित पटेलले कार्यकाल पुरा हुन बाँकी समय रहदै राजीनामा दिएपछि मोदी सरकारले पूर्व अर्थसचिव दासलाई आरबीआईको गभर्नर बनाएको थियो ।

आरबीआईका गभर्नर दास तमिलनाडु क्याडरका भारतीय सरकारी अधिकृतको रुपमा सेवा प्रवेश गरेका थिए । इतिहास विषयमा एमए पास गरेका दासले भारतको केन्द्र र राज्य सरकारको विभिन्न पदमा काम गरेका छन् ।

नरेन्द्र मोदीले सन् २०१६ मा नोटबन्दीको घोषणा गर्दा दास अर्थसचिव थिए । उनले मोदी सरकारको नीतिको खुलेर स्वागत गरेका थिए ।


क्लिकमान्डु