बिलेटमा अन्तःशुल्क बढाउने निर्णयप्रति सांसद रुष्ट, स्वदेशी उद्योगलाई धराशायी बनाउन लागेको आरोप



काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले स्वदेशी स्टील उद्योगलाई धराशायी बनाउने गरी आयातित बिलेटमा अन्तःशुल्क बढाउने सरकारको नीतिगत निर्णय मान्य नहुने चेतावनी दिएका छन् ।

समितिको बैठकमा सांसदहरु प्रकाश रसाईली, भिमसेनदास प्रधान र प्रमोद साहले स्वदेशी स्टील उद्योगलाई धराशायी बनाउने गरी आएको सो नीति तत्काल फिर्ता नलिए अर्थमन्त्री जनार्दन शर्मालाई माफी नदिन नसकिने बताए ।

सांसद रसाईलीले सरकारले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत् ल्याएको नीतिले स्वदेशी स्टील व्यवसायलाई धराशायी बनाउने सुनिश्चित भएको भन्दै आक्रोश व्यक्त गरे । शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले भने, ‘स्टील व्यवसायलाई धराशायी बनाउने गरी सरकारले निर्णय गरेको छ । यसमा अर्थ मन्त्रीज्यूलाई हाम्रो समितिको तर्फबाट कुनै आममाफी हुँदैन । उहाँले के गर्नु हुन्छ, त्यो कुरालाई चाँही हामीले महत्वपूर्ण ढंगले हेर्नु पर्दछ ।’

अर्का सांसद भिमसेनदास प्रधानले सरकारले स्वदेश स्टील उद्योगलाई हतोत्साही बनाउने गरी नीति सरकारले ल्याएको भन्दै आपत्ति जनाए । उनले स्वदेशी उद्योगलाई धराशायी बनाउने र रोजगारी सृजना गरिरहेका ती उद्योगहरु चल्न नसक्ने गरी आयातित बिलेटमा अन्तशुल्क बढाउने गरी सरकारले भारतपरस्त नीति ल्याएको आरोप समेत लगाए । उनले भने, ‘आफ्नो राष्ट्रिय उद्योगलाई धराशायी पार्ने अनि नीतिलाई ईन्डियनमुखि हुने भयो । यो इन्डष्ट्री जसले रोजगारी दिईरहेको छ, तर स्वदेशी उद्योगलाई प्रोत्साहित गर्ने खालको नीति आउनुपर्नेमा हतोत्साही बनाउने नीति आउने ? यो सेटिङ जस्तो लाग्यो मलाई भ्रष्टाचारको । होस नहोस्, आफू बनोस भन्ने यस खालको नीति मान्य हुनेछैन ।’

२४ वटा स्वदेशी स्टिल उद्योगलाई धराशायी बनाउने गरी ल्याएको र उक्त नीति कुनै पनि हालत मान्य नहुने सांसद प्रमोद साहले बताए । उनले मन्त्रालयका अधिकारीहरु आफैले स्विकार गर्न नसक्ने उक्त निर्णय नेपालको स्वदेशी स्टील उद्योगीहरुले कसरी स्विकार गर्न सक्छन भनि सरकारसँग प्रश्न गरे । सांसद साहले भने, ‘३० वटा उद्योगमध्ये २४ वटा उद्योगलाई धरासायी बनाउने गरी जुन नीति बनायौं । त्यो कुनै पनि हालतमा आम पब्लिकका लागि र खासगरी स्वदेशी उद्योगीहरुका लागि यो राम्रो कुरा होईन । मन्त्रालयका सहसचिव समेतलाई स्विकार्य नहुने उक्त नीति कसरी उद्योगीहरुले स्विकार गर्न सक्छन ?’

बैठकमा पञ्चकन्या स्टिल प्रालिका प्रबन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठ र साखः स्टिलका प्रबन्ध निर्देशक किरणप्रकाश साखःले स्वदेश स्टिल उद्योगमा वार्षिक करिब ३० अर्ब नोक्सान हुने गरी सरकारले नीति ल्याएको भन्दै आपत्ति जनाए । साखः स्टिलका प्रबन्ध निर्देशक साखःले स्वदेशी उद्योगमा अर्बौको नोक्सान हुने गरी अन्तशुल्क बढाउने सरकारको निर्णय तत्काल फिर्ता लिने वातावरण बनाउन समितिसँग माग गरे । प्रबन्ध निर्देशक साखःले सरकारले स्वदेशी स्टिल उद्योगको विकासका लागि चासो नदिएको आरोप समेत लगाए ।


क्लिकमान्डु