सोलुखुम्बुमा नेपाल टेलिकमद्धारा पहिलो पटक अप्टिकल फाइबर लिंक स्थापना



काठमाडौं । उच्च हिमाली क्षेत्र सोलुखुम्बु जिल्लामा गुणस्तरीय दूरसञ्चार सेवा विस्तारका लागि पहिलो पटक अप्टिकल फाइबर लिंक स्थापना गरिएको छ ।

नेपाल टेलिकमले मुलुकको अति दुर्गम स्थानहरू मध्येको सोलुखुम्बु जिल्लामा सेवाग्राहीहरूको सहजताको लागि पहिलो पटक अप्टिकल फाइबर लिंक स्थापना गरिएको हो ।

टेलिकमले अप्टिकल फाइबर लिंक स्थापना पश्चात दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएका छन् ।

हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवाको गुणस्तरमा थप वृद्धि हुने भएको टेलिकमको दाबी छ । समुद्री सतहबाट ३ हजार मिटर उचाईमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनलाई हिजो (२०७८ कात्तिक ११) १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडिएको हो ।

रेडियो लिंकको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा विगत लामो समयदेखि सेवाग्राहीहरुको आवश्यकता र चाहना भएतापनि उच्च गति तथा गुणस्तरका सेवा उपलब्ध हुन सकेको थिएन । नयाँ अप्टिकल फाइबर लिंक सञ्चालनमा अप्रत्याशित समस्या भएमा रेडियो लिंकलाई तुरुन्तै प्रयोग गर्न सकिने भएकाले सेवाको नियमित उपलब्धतामा सहयोग पुग्ने देखिएको टेलिकमले उल्लेख गरेको छ ।

पत्ताले रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लु लगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरुको गुणस्तर अभिवृद्धि हुनेछ । यसका साथै यो लिंकबाट ओखलढुंगा तथा खोटाङ जिल्लाका टावरहरुको मोबाइल ट्राफिक आदान प्रदान गर्न सहज हुनेछ ।

विगतका वर्षहरुमा यी क्षेत्रमा टेलिफोन सेवाको गुणस्तरीयताका बारेमा टिका टिप्पणी हुने गरेको सन्दर्भमा अप्टिकल फाइबर लिंकको प्रयोगसँगै अब उप्रान्त ग्राहकवर्गले गुणस्तरीय सेवाको अनुभव गर्नसक्ने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु