बैंकमा पैसा अभाव भएको बेला आयल निगमले २० अर्ब निक्षेप निकाल्ने



काठमाडौं । बैंकमा पैसा अभाव भएको नेपाल आयल निगमले समय नपुग्दै बैंकमा रहेको २० अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने माग गरेको छ ।

मूल्य समायोजन नभएको कारण निरन्तर घाटामा रहेको आयल निगमले मुद्दती निक्षेपमा राखेको पैसा समय पुरा नहुँदै निकाल्ने निर्णय गरेको हो ।


आयल निगमले पैसा निकाल्ने विषयमा सहजिकरण गर्नको लागि नेपाल बैकर्स संघ अनुरोध गरेको छ । अहिले बैंकिङ प्रणालीमा तरलता अभाव छ । आयल निगमले समय नहुँदै पैसा निकाल्ने निर्णय गरेमा प्रणालीमा पैसाको थप अभाव हुने छ ।

नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले निरन्तर घाटामा गएको भन्दै मुद्दती निक्षेपमा रहेको पैसा निकाल्नुपर्ने अवस्था आएको भन्दै आयल निगमका उच्च अधिकारीहरु सहजिकरण गर्नको लागि आएको बताए ।

‘आयल निगगले भारतीय आयल निगमलाई पठाउनुपर्ने पैसा अब मुद्दती निक्षेपमा रहेको मात्रै रहेको जानकारी दिएको छ, हामीहरुले सरकारी निकायसँग सहजिकरण गर्न भनेका छौ,’ दाहालले भने ।

बैकर्स संघले आयल निगमका उच्च अधिकारीलाई अन्तिम बिकल्पको रुपमा मात्र मुद्दती निक्षेपको पैसा चलाउन भनेको छ ।

आयल निगमका अधिकारीहरु भने निगमसँग पैसा सकिएको हुँदा मुद्दती निक्षेप चलाएर नै तेल किन्नुपर्ने बाध्यता रहेको बताउँछन् । आयल निगमले स्वचालिन मूल्य प्रणाली लागू गरेपनि विभागिय मन्त्री नभएको कारण मूल्य बढाउन सकेको छैन । जसले गर्दा आयल निगमको घाटा बढ्दै गएको छ ।

सरकारले पेट्रोलियम पदार्थमा बढी कर लिने गरेको छ । आयल निगमका अधिकारीहरु पेट्रोलियम पदार्थको मूल्य सस्तो भएको बेला लगाएको कर हटाउन माग गरेका छन् ।

आयल निगमले समय अगाडि नै २० अर्ब रुपैयाँ बैंकबाट निकालेमा बैंकहरु भने तरलता अभावको थप चापमा पर्ने छन् । आयल निगमको बढी पैसा अहिले तरलता सहज भएका वाणिज्य बैंक र नेपाल बैंकमा छ । ति बैंकमा भएको बढी तरलताले गर्दा औसतमा बैंकहरुको सीडी रेसियो ९० प्रतिशत छुन पाएको छैन । २० अर्ब रुपैयाँ निस्केमा कुनैपनि बैंक ऋण दिन नसक्ने अवस्थामा पुग्ने छन् ।

राष्ट्र बैंकका अनुसार अहिले बैंकहरुसँग ४२ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यस्तै कर्जा ४० खर्ब ७ अर्ब रहेको छ ।


क्लिकमान्डु