आइफोन १३ किन्दा १ वर्षसम्म प्रत्येक महिना ५ जीबी डेटा सित्तैमा पाइने




काठमाडौं । नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रालिबीच सम्झौता भएको छ । जसअन्तर्गत आइफोन खरिदकर्ताका लागि नेपाल टेलिकमको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र इभोलुसन ट्रेडिङ प्रालिका निर्देशक तरुण बज्राचार्यले बुधबार हस्ताक्षर समेत गरेका छन् ।

उल्लेखित सम्झौता अनुसार इभोलुसन ट्रेडिङका काठमाडौं उपत्यकामा रहेका ७ वटा र उपत्यका बाहिर सञ्चालन हुने आउटलेटमार्फत् आइफोन १३ वा सोभन्दा माथिल्लो भर्सनका आइफोन खरिद गर्ने ग्राहकलाई प्रतिमहिना ५ जीबी डाटा चलाउन मिल्ने प्याकेज १२ महिनाका लागि निःशुल्क उपलब्ध हुनेछ ।

नेपाल टेलिकमका ग्राहकले हाल प्रयोग गरिरहेको नेपाल टेलिकमको पोस्टपेड वा प्रिपेड सिम नै नयाँ खरिद गर्ने आइफोन १३ मा प्रयोग गर्ने अवस्थामा उल्लिखित डाटा प्याकेज सोही सिममा उपलब्ध गराइनेछ ।

आइफोन १३ मा ग्राहकले नेपाल टेलिकमको नयाँ सिम लिई प्रयोग गर्न चाहेमा कम्पनीले नयाँ प्रिपेड सिम इभो स्टोरमार्फत् निःशुल्क उपलब्ध गराउने छ । यो सिममा मेन ब्यालेन्स १० रुपैयाँ र थप ब्यालेन्स ४० रुपैयाँ उपलब्ध हुनेछ । उक्त थप ब्यालेन्सबाट कम्पनीको नेटवर्कभित्र ४० मिनेट भ्वाइस कल र २० वटा सन्देशका साथै ६० एमबी डाटा एक महिनाभित्र उपयोग गर्न सकिनेछ ।


क्लिकमान्डु