झिलिमिली बत्तीको मूल्य ३५% सम्म बढ्यो, आयात ६०%ले घट्यो



काठमाडौं । तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल शुरू भएको छ । झिलीमिली बत्ती र फूलको चाडपर्व भनेर चिनिने तिहारका लागि अधिकांश व्यापार व्यवसायीले सम्पूर्ण सामग्री तयार गरिसकेका छन् । तिहारको मुख्य विशेषता भनेको मखमली फूल, माटाका पाला तथा विद्युतीय बत्ती (झिलिमिली बत्ती) हो ।

विशेषगरी तिहारमा मात्रै झिलिमिली बत्ती बिक्री हुने भएकाले आयातकर्ताहरूले बजारमा बिक्री गर्नको लागि तयारी अवस्थामा रहेको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ ।

हाल आयातकर्ताहरूले तिहारको बत्तीहरूको आयात गरिसकेको र खुद्रा बजारमा व्यापारीहरूले बिक्री शुरू गरिसकेका महासंघका महासचिव कमल पोखरेल बताउँछन् ।

साथै, तिहारका लागि व्यवसायीहरूले आवश्यक झिलिमिली बत्तीहरू सजाउन थालिसकेका छन् । हरेक वर्ष तिहारकै लागि भनेर करोडौंको सजाउने माला र झिलिमिली बत्ति आयात हुने गर्दछ ।

सामान्य अवस्थामा वार्षिक १ अर्बभन्दा बढी विद्युतीय बत्ति नेपालमा आयात हुने गर्दथ्यो । उक्त आयातित बत्ती तिहारमा मात्रै ८० प्रतिशत खपत हुन्छ भने अन्य २० प्रतिशत झिलिमिली बत्ती क्रिसमस, नयाँवर्ष तथा विवाहभोजमा र अन्य मौसममा बिक्री हुने पोखरेलले जानकारी दिए ।

‘तिहारलाई झिलिमिली बत्ती अत्यधिक बिक्री हुने भएकाले सोहीअनुसार आयातकर्ताहरूले आयात गर्ने गर्दछ,’ उनले भने ।

तर, कोभिडका कारण झिलिमिली बत्तीको आयातमा निकै गिरावट आउँदा बजारमा भनेअनुसार बत्ती उपलब्ध गराउन नसकेको व्यवसायीहरू बताउँछन् ।

२०७६ सालको तिहारमा नेपालले करिब ६० करोड बराबरको बत्ती आयात गरेको थियो । गत वर्ष कोरोनाको निकै प्रभाव हुँदा २५ करोड रुपैयाँ बराबरको आयात भएको थियो । तर, यो वर्ष गत वर्षको तुलनामा आयात बढे पनि सामान्य अवस्थाको भन्दा निकै कम भएको महासंघले जनाएको छ ।

यो वर्ष करिब २५ देखि ३५ प्रतिशतमात्रै झिलिमिली बत्तिको आयात भएको उनको भनाई छ ।

‘यो वर्ष कोभिडले गर्दा विविध समस्या उत्पन्न भएको हुँदा करिब ४० करोडको विद्युतीय बत्ती अर्डर भएको देखिन्छ,’ उनले भने, ‘उक्त अर्डरअनुसार यो तिहारमा ३० करोड रुपैयाँ बराबरको व्यापार हुने देखिन्छ ।’

जसमा सामान्य अवस्थाको तुलनामा स्थिति सहज नहुँदा ६० प्रतिशतले आयातमा गिरावट आएको उनको भनाइ छ ।

मूल्य बढ्ने
कोरोना महामारीकै समयमा नेपालीहरूको महान चाड तिहारमा आवश्यक सामग्रीको आयात कम भएसँगै झिलिमिली बत्तिको मूल्य बढ्ने भएको छ ।

गत वर्ष विगतको वर्षमा कायम भएको मूल्य नै कायम भएको थियो । तर, यो वर्ष भने हरेक झिलिमिली बत्तीमा ३५ प्रतिशतसम्म मूल्य बढ्ने भएको महासंघका महासचिव पोखरेलको भनाइ छ ।

‘अधिकांश झिलिमिली बत्ती चीन र भारतमाबाट आयात हुने गर्दछ । चीनमा कच्चा पदार्थको अभाव भई मूल्य बढेको छ । साथै, कोभिडले गर्दा आयातमा गर्न सहज हुन नसकेको र व्यवसायीहरूले चीनमै गएर वस्तुको अर्डर गर्न नसक्दा बजारमा पर्याप्त मात्रामा आयात गर्न नसक्दा मूल्य बढेको हो,’ उनले क्लिकमाण्डूसँग भने ।

जसमा ७० प्रतिशत चीनबाट आयात हुन्छ भने बाँकी ३० प्रतिशत भारतबाट झिलिमिली बत्ती आयात हुने गर्दछ ।साथै, इन्धन र ढुवानीमा पनि चर्को मूल्यवृद्धि भएकाले स्वाभाविक रुपमा मूल्य बढेको उनको दाबी छ ।

उनकाअनुसार बजारमा तिहारलक्षित पर्याप्त झिलिमिली बत्तीको आयात हुन नसक्दा खुद्रा व्यापारीले महंगो मूल्यमा बिक्री गर्नुपर्ने र उपभोक्ताले महंगो मूल्यमा खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

बजारमा तिहारलक्षित विभिन्न प्रकारका लाइट भित्रिने गर्दछ । हाल बजारमा सबैभन्दा धेरै एलईडी लाइट, एलईडी डिस्को लाइट, एलईडी फ्रेम लाइट, नेट झालर, दियो, स्ट्रप लाईट अत्याधिक बिक्री हुने गर्दछ । उक्त लाइटहरूको मूल्य करिब डेढ सयदेखि २५ हजारसम्मको मूल्यमा बिक्री हुने गरेको उनको भनाइ छ ।


क्लिकमान्डु