६ महिनापछि खुलेको लाइसेन्सको आवेदन ३ दिन नपुग्दै बन्द



काठमाडौं । करिब ६ महिनापछि खुलेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन ३ दिन नपुग्दै बन्द भएको छ ।

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै लाइसेन्सको अनलाइन आवेदन प्रणालीमा समस्या आई बन्द भएको जानकारी दिएको हो ।

‘लाइसेन्सको अनलाइन्स आवेदन प्रणालीमा केही प्राविधिक समस्या देखिएको हुनाले मर्मतका लागि बन्द गरिएको छ,’ जारी सूचनामा उल्लेख छ ।

विभागले यसअघि गत वैशाख १६ गते कोभिडका कारण अनलाइन आवेदन बन्द गरेको थियो । करिब ६ महिनासम्म बन्द भएको अनलाइन आवेदन गत मंगलबारबाट खुलाएको थियो । तर, खुलाइएको ३ दिन नपुग्दै बन्द हुँदा सेवाग्राहीहरू मारमा परेका छन् ।

विभागले यसअघि पनि अनलाइन आवेदन खुलाउँदा सर्भरमा समस्या उत्पन्न भएको थियो । यो पटक पनि अत्याधिक सेवाग्राहीको चाँप हुँदा सर्भर डाउन भएको विभागका प्रवक्ता लोकनाथ भुसाल बताउँछन् । उनकाअनुसार सो अनलाइन आवेदनमा अत्याधिक चाँपले सर्भर डाउन भएको छ । विभागले प्रणाली मर्मतको कार्य भइरहेको हुनाले भोलिसम्ममा सञ्चालनमा आउनेछ ।


क्लिकमान्डु