बाल अस्पताल निर्माण गर्न काठमाडौं महानगरको ४ करोड सहयोग



काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बालबालिकाको उपचारका लागि आधुनिक अस्पताल निर्माण गर्न काठमाडौं महानगरपालिकाले ४ करोड आर्थिक सहयोग गरेको छ ।

बुढानिलकण्ठमा निर्माण गर्ने उक्त अस्पतालका लागि काठमाडौं महानगरपालिकाले उक्त सहयोग गर्ने सम्झौता–पत्रमा हस्ताक्षर गरेको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका तर्फबाट अध्यक्ष डाक्टर भगवान कोइरालाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रमुख शाक्यले मुलुक संघीयतामा गैसकेको अवस्थामा स्वास्थ्य सेवाका लागि संघीय राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिए ।

‘संघीय राजधानीबाट पाउने स्वास्थ्य सेवा अन्य प्रदेशबाट पनि प्राप्त गर्ने वातावरण निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारलाई स्वास्थ्य क्षेत्रमा लगानी गर्न आग्रह गर्छु,’ शाक्यले भने, ‘निजी क्षेत्रले स्वास्थ्यमा लगानी गर्न चाहन्छ भने त्यसका लागि समेत उपयुक्त वातावरण निर्माण गरेर अबका दिनमा स्वास्थ्य सेवाका लागि नागरिकले संघीय राजधानी नै धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ ।’

प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको भन्दै चाइल्ड हेल्थ अस्पताल निर्माणका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

‘विशेषज्ञहरुको समूले बालबालिकाको उपचारलाई केन्द्रित गरेर अस्पताल निर्माणको अभियान अघि बढाउनु भएको छ,’ शाक्यले भने, ‘सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा दिने गरी अघि बढ्नुहोला हामी सहयोगको हात अझै अघि बढाउन तयार छौँ ।’

प्रमुख शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रुपमा सेवा पाउन सकुन् भनेर कोभिडका बेला विभिन्न सरकारी र सामूदायिक अस्पताललाई आइसियु भेन्टीलेटर प्रदान गरेको पनि स्मरण गराए ।

‘राजधानीवासीसहित ७७ वटै जिल्लाबाट कोभिड उपचारका लागि काठमाडौँ आएका बिरामीले सुलभ सेवा पाउन सकुन भन्ने हेतूले हामीले सरकारी र सामुदायिक अस्पताललाई पीसीआर मेसिन, अस्पतालका बेडलगायत सामग्री पनि दिएका छौँ,’ उनले भने, ‘कोभिड संक्रमणका बेला महानगरपालिकाले महानगरबासी मात्रै होइन देशबासीलाई बचाउनुपर्छ भनेर विभिन्न अस्पताललाई भेन्टिलेटरदेखि अन्य स्वास्थ्य सामग्री सहयोग गरेको हो ।’

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डाक्टर कोइरालाले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य र अलिक भिन्न तरिकाले बालबालिकाको सबै प्रकारका रोगको विशेषज्ञसहितको विशिष्टिकृत सेवा दिने उद्देश्यले अस्पताल निर्माणको अभियानमा जुटेको बताए ।

‘बालबालिकाका प्रत्येक रोगका बालरोग विज्ञहरुलाई एउटै छानमुनी राखेर काठमाडौंबाट सेवा दिने सामूहिक सपनालाई मूर्तरुप दिन हामीले यो अस्पताल निर्माणको अभियान अघि बढाएका हौं,’ डाक्टर कोइरालाले भने, ‘हामीले प्रत्येक प्रदेशमा पनि विशेषज्ञसहितको सेवा दिने योजनासहित अस्पताल निर्माणको काम अघि बढाएका छौँ । त्यहि अभियान अन्तरर्गत प्रदेश एकबाट हामी छिट्टै सेवा शुरु गर्ने तयारीमा छौँ ।’
उनले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगले काठमाडौंबाट एउटै छनामुनीबाट विशिष्टिकृत सेवा दिने अभियानलाई मूर्तरुप प्रदान गरेको बताए ।

‘काठमाडौंमा हामीले २ सय बेडको अस्पताल निर्माणको तयारी गरेका छौं,’ उनले भने, ‘काठमाडौं महानगरपालिकाले गरेको सहयोग हाम्रो अभियानका लागि कोशेढुंगा बनेको छ । अब अस्पताल निर्माणको काम दू्रत गतिका साथ अघि बढ्छ ।’

उनले राज्यको आवश्यकता र दायित्व पूरा गर्ने उद्देश्यका साथ अघि बढेको पनि स्मरण गराए ।


क्लिकमान्डु