सेबोन अध्यक्ष नियुक्ती प्रक्रिया शुरु: को-को छन् चर्चामा, नेप्सेमा कहिले ?



काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)(मा रिक्त रहेको अध्यक्ष नियुक्तका लागि आवश्यक प्रक्रिया शुरु गरेको छ ।

सेबोन अध्यक्षका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललको संयोजकत्वमा एक समिति गठन भएको छ । समितिका सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल र विज्ञ सदस्य डा. नारायण प्रसाद पौडेल छन् ।

मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै बोर्डमा रिक्त रहेको अध्यक्ष पदमा १५ दिनभित्र आवेदन दिन भनेको छ ।

मन्त्रालयले रिक्त अध्यक्ष पदमा खुल्ला प्रतिष्पर्धात्मक प्रतियोगिताद्वारा गरिने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले कात्तिक २५ गतेभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोग्य शिलबन्दी आवेदन दिन सक्नेछन् ।

यसका लागि मन्त्रालयले आवश्यक योग्यता तथा अनुभव समेत निर्धारण गरेको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० बमोजिम योग्यता तोकेको हो । धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा ७ वर्ष पेशागत अनुभव हासिल गरेको व्यक्ति हुनुपर्ने छ । अध्यक्ष हुन ३० वर्ष पूरा भएर ६० वर्ष ननाघेको हुनुपर्नेछ ।

अध्यक्षका लागि दरखास्त पेश गर्दा ५ हजार शब्दमा नबढ्ने गरी व्यवसायीक कार्ययोजना प्रस्तुत गर्नुपर्ने छ ।

नेप्सेमा कहिले ?
अहिले सेबोन मात्रै नभइ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पनि प्रमुख कार्यकारी अधिकृत (सिइओ)को पद खाली छ ।

सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएपछि नेप्से सीइओ चन्द्रसिंह साउँदले राजीनामा दिएपछि पद खाली छ । साउँदले गत भदौ ८ गते पदबाट राजीनामा दिएका थिए ।

यस्तै बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई भने मन्त्रिपरिषदले नै बर्खास्त गरेको थियो । योसँगै दुवै निकाय नेतृत्वबिहीन बनेको छ । मन्त्रालयले बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया शुरु गरेपनि नेप्सेमा भने ध्यान दिन सकेको छैन ।

बोर्डमा कसको चर्चा
बोर्डका अध्यक्ष ढुंगानाको मुद्दा सर्वोच्च अदालतमा बिचाराधिन रहेको समयमा नै सरकारले नयाँ अध्यक्ष नियुक्तीको लागि आवश्यक प्रकृया शुरु गरेको हो ।

बोर्डको अध्यक्षका लागि कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासकीय अधिकृत तथा आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक शिवनाथ पाण्डे, बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाई र बीमा समितिका कार्यकारी निर्देशक निरज गिरीको नाम चर्चामा छ ।


क्लिकमान्डु