मृतक उपेन्द्रका परिवारले सामाजिक सुरक्षा कोषबाट मासिक १६ हजार पेन्सन पाउने



काठमाडौं । सामाजिक सुरक्षा कोषबाट मृतक उपेन्द्र भट्टराईको आश्रित परिवारले मासिक १६ हजार रुपैयाँ पेन्सन पाउने भएको छ ।

कोषबाट मृतक भट्टराईको आश्रित परिवार बुबा देव राज भट्टराई र आमा ढकमाया भट्टराईले १६ हजार १९१ रुपैयाँ मासिक रुपमा पेन्सन पाउने भएको हो ।

खोटाङ दिक्तेल रुपाकोट मझुवागडीको उपेन्द्र लक्ष्मी लघुवित्त वित्तीय संस्थामा करिब ५ वर्षदेखि कार्यरत थिए । लघुवित्त संस्था कोषमा आबद्ध भएकाले सो सुविधा पाएको कोषले जनाएको छ ।

गत असोज ५ गते कोभिड–१९ कारण उपेन्द्रको अल्पआयुमै मृत्यु भएकाले मृतक उपेन्द्रको आश्रित परिवारले कोषबाट पाउनुपर्ने रकम पाउने भएको हो ।

कोषले मृतक उपेन्द्र संस्था कोषमा आबद्ध भएपछि असोज ६ गतेबाट सुविधा प्राप्त गर्ने मिति शुरु भएको थियो । जसमा मृतक उपेन्द्रले कोषमा ३ महिनामा मात्रै योगदान गरेको थियो ।

उक्त अवधिमा कोषलाई आफ्नो मासिक तलबको १० प्रतिशत र रोजगारदाताबाट २१ प्रतिशत गरी ३१ प्रतिशत रकम जम्मा गरेका थिए । जसमा ३ महिनाको अवधिमा कोषमा मृतक उपेन्द्रको वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत ३० हजार ९ सय ४९ रुपैयाँ जम्मा भएको थियो ।

कोषको नियमअनुसार उपेन्द्रका आश्रित परिवार बुबाआमाले मासिक तलबको ६० प्रतिशत पेन्सन पाउने भएक छन् । जसमा बुबा देवको नामबाट ३० प्रतिशत र आमाको नामबाट ३० प्रतिशत गरी ६० प्रतिशत पाउनेछन् ।

मृतक उपेन्द्र अविवाहित भएकाले बाँकी ४० प्रतिशत नपाउने भएको छ । कुनैपनि व्यक्ति विवाहित भएको खण्डमा कुनै कारणवश मृत्यु भएमा आश्रित परिवार बुबाआमालाई ६० प्रतिशत र ४० प्रतिशत श्रीमती वा छोराछोरीको नाममा पेन्सन पाउने व्यवस्था छ । तर, मृतक उपेन्द्र अविवाहित भएकाले अन्य कुनै पेन्सन पाउने व्यक्ति नभएको कोषले जनाएको छ ।

साथै, कोषले मृतक उपेन्द्रलाई अन्तिम संस्कारवापत २५ हजार रकम पनि उपलब्ध गराएको कोषले जनाएको छ ।

कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले कोषमा आबद्ध भएका श्रमिकले कोषबाट दिनुपर्ने भुक्तानी सहजै दिने बताए । उनकाअनुसार सो प्राप्त रकम ३÷३ वर्षमा बीमाङ्कीय मूल्याङ्कन बढ्ने भएकाले अहिले प्राप्त भएको १६ हजारबाट रकम बढ्ने जानकारी दिए ।

कोषबाट अन्तिम आधारभूत ६० प्रतिशतले पाउने हो । यसले पनि केही राहत मिलेको उनको बुझाई छ । कोषबाट वृद्धिअवस्था योजनाअन्तर्गत आबद्ध भएका ११२ मृतक आश्रित परिवारलाई भुक्तानी गर्ने भएको छ ।

जसमा हालसम्म ५१ जनालाई निरन्तर मासिक १४ लाख रुपैयाँ बराबरको भुक्तानी गर्दै आएका छन् भने बाँकीको पनि भुक्तानी गर्ने प्रक्रियाको रहेको उनको भनाइ छ ।

लघुवित्तका सिईओ प्रकाशराज शर्माले कोषमा योगदान गर्दा मृतकको परिवारलाई राहत मिलेको बताए ।

‘हामीले मृतक उपेन्द्रलाई फर्काउन त सक्दैनौं । तर, आश्रित परिवारलाई कोषबाट प्रदान हुने रकमले धेरै सहयोग हुनेछ’ उनले भावुक हुँदै भने ।

साथै, मृतक उपेन्द्रको आश्रित परिवारलाई बीमाको पनि सम्पूर्ण रकम उपलब्ध गराउने तयारी गरिरहेको जानकारी दिए ।

मृतक उपेन्द्रका बुबाले कोषबारे केही थाहा नभएपनि सरकारले केही राहत प्रदान गरेको बताए । ‘घरमा कमाउने एउटा मात्रै छोरो थियो ।

छोरो बितेपछि कमाउने व्यक्ति कोही थिएन । कोषले मासिक १६ हजार प्रदान गर्ने भएकाले परिवार चलाउन सजिलो हुनेछ,’ उनले भने ।
कोषबाट प्रदान हुने रकम आश्रित परिवारले खोटाङको बैंकमार्फत् नै पाउनेछन् ।


क्लिकमान्डु