जर्जर अवस्थाबाट तंग्रिदै उदयपुर सिमेन्ट उद्योग



काठमाडौं । लामो समयदेखि आर्थिक रुपमा जर्जर अवस्थामा रहेको उदयपुर सिमेन्ट उद्योग यतिबेला तंग्रिन थालेको छ ।

२०७७ माघ १ गते महाप्रबन्धकमा गोपीकृष्ण न्यौपाने नियुक्त हुँदा उद्योग स्थलमा कोइला, जिप्सम, आइरन ओर मात्रै होइन रातोमाटोको समेत अभावमा उद्योग बन्दप्रायः अवस्था थियो । उनले तत्कालीन समयमा जसोतसो सबैको सहयोगमा उद्योग संचालन गरे ।

उद्योगको तत्काल तिर्नुपर्ने चालू दायित्व रु. ६५ करोड भन्दा बढी नै थियो । पुस अगाडि सेवा निवृत्त भएका कर्मचारीले उपदान र औषधि उपचारको खर्च बापत पाउनुपर्ने सुबिधा पाएका थिएनन् ।

राजस्व बाँकी थियो । करोडौं रकम तिर्न बाँकी थियो । त्यसमा समेत माघदेखि बिक्री गरी कोष व्यवस्थापन गरी क्रमशः आंशिक भुक्तानी गरी नियमित सञ्चालन गर्न आफूले मिहेनत गरेको न्यौपानेले बताए ।

लोडसेडिङको समयमा वरिपरिका बासिन्दालाई दिएको उद्योगको विद्युत लाइन लोडसेडिङ अन्त भएपछि पनि फेर्न नसक्दा उद्योगले मासिक ४ लाख बराबरको बिद्युत डिमाण्ड शुल्क तिरिरहेको थियो ।

न्यौपाने महाप्रबन्धक भएर आएपछि यसअघिका जीएमले अनेक प्रयास गर्दा पनि बिद्युत लाइन फेर्न नसकेकोमा उद्योगको लाइन छुटाएर उद्योगको मासिक ४ लाखको खर्च बचत गरेको बताए ।

साधारण कोटेशनबाट खरिद गर्ने प्रथाको लगभग अन्त्य भएको छ भने मागफाराम र जाँच पास पनि विभागीय प्रमुखले सिधै पास गराउँदा हुनसक्ने अनियमितता रोक्न बिभागीय प्रमुख, महाशाखा प्रमुख, डिजिएम हुँदै महाप्रबन्धकले स्वीकृति गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

उद्योगको नामको लिलाम भएर गएको २ कठा १७ धुर समेत रोक्का रहेको ३३ बिघाह जग्गा फुकुवा गरेर ल्याउन कानून व्यवसायी समेत रहेका महाप्रबन्धक न्यौपानेको महत्त्वपूर्ण भूमिका रह्यो ।

२९ वर्ष पुरानो उद्योग भएकोले यसको मर्मत सम्भार मूख्य समस्याको रुपमा पहिचान गरेका न्यौपानेले नियमित मर्मतसम्भार गर्दै उद्योग संचालन गरेर उत्पादन गरिरहेको भएतापनि उद्योग पूर्ण क्षमतामा संचालन गर्न सेफ नै बिग्रेको क्लिन सेल २० मिटर फेर्नुपर्ने र रिइन्फोर्सनेण्ट सस्पेन्सन प्रेहिटर जडान गरी केही मेसिन औजार फेर्न सके उद्योगको हालको दैनिक क्षमता ३ सय मेट्रिक टन बढ्न गइ ११ सय मेट्रिक टन पुग्ने भएकाले उद्योगको ब्रेकडाउन समय कटाउदा पनि औषत हालको क्षमता दैनिक ८ सय मेट्रिक टन उत्पादन हुनसक्ने उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले जानकारी दिए ।

यसका लागि महाप्रबन्धक न्यौपानेले २० मिटर क्लिन सेल फेर्न ६ करोड ८ लाख रुपैयाँमा टेण्डर प्रक्रियाद्वारा सम्झौता सम्पन्न गरिसकेका छन भने आरएसपी जडानका लागि अध्ययन गराई तीन वर्षभित्र तिरिसक्ने सरकारसँग ४० करोड रुपैयाँ ऋण सहयोग समेत माग गरेका छन् ।

उद्योगमा महाप्रबन्धकका रुपमा न्यौपाने आउँदा विभिन्न तहका १५ जना कर्मचारीले विदाको रकम, उपदान रकम र औषधि उपचार खर्च पाएका थिएनन । माघपछि ती कर्मचारीहरुले पाउने सुविधा वापत ५ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको आर्थिक प्रशासन महाशाखा प्रमुख कमल पौडेलको भनाइ छ ।

‘मंसिरदेखिको तलव ओटी बाँकी थियो । २०७७ असारदेखिको कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष गएको थिएन । त्यो सबै भुक्तानी महाप्रबन्धक न्यौपाने आएपछि भएको हो,’ प्रवक्ता लक्ष्मण पोखरेलले भने ।

साउन भदौको वर्षायाममा विगत वर्षमा क्लिंकर उत्पादन हुने गरेको थिएन । तर यसपटक उत्पादन भएको भएपनि वर्षाका कारण बिक्री कम भएकाले नियमित खर्च गर्न समेत धौ धौ परिरहेका बेला कर्मचारीको दशैं खर्च, पोषक भत्ता, ओटी, विदा मुआब्जाआदि वापतको लगभग ६ करोड रुपैयाँ भुक्तानी समयमै भएको प्रवक्ता पोखरेल बताए ।

२०७७ पुस अगाडिको चालु दायित्व करिब ३२ करोड रुपैयाँ भुक्तानी हुँदा बैशाख २०७८ पछि अवकाश पाउने कर्मचारीको भुक्तानीमा केही ढिलाइ भएको छ । तर, पुस अगाडि जसरी लामो समयसम्म क्यूमा बस्नुपर्ने अवस्था थियो, पछिल्लो समयमा अवकाश पाउनेले त्यति धेरै कुर्नु नपर्ने पोखरेलको भनाइ छ ।

हाल करिब २५ करोडको सिमेन्ट स्टक छ भने मंसिरदेखि सिजन शुरु हुनासाथ बिक्री हुने र नगद प्रवाहमा समस्या नहुने पोखरेलले दाबी गरे ।

हरेक वर्ष उपदान कोषमा रकम जम्मा गरिदिएको भए यस्तो समस्या नै आउने थिएन, अहिले अवकाश पाउनेको संख्या ह्वात्तै बढेको छ । विगत वर्षमा कोषमा दाखिला गर्नुपर्ने दायित्व दाखिला नगरेकाले नै अहिले त्यो बेला उपल्लो दर्जामा रहेका कर्मचारीहरुको पनि भुक्तानी हुन नसकेको उनले बताए ।

अहिले सबै कर्मचारीको उपदान कोष र औषधि उपचारको दायित्व १ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । यसअघि वर्षैपिच्छे कोषमा रकम जम्मा नहुँदा अहिले एक्कासी भार परेको छ । तर अब सिमेन्ट बिक्री हुँदै गर्दा कोषमा रकम जम्मा गरिने र क्रमशः मृत्यु भइसकेका कर्मचारीहरुका हकदारलाई पहिलो प्राथमिकतामा राखी अन्य अवकाश प्राप्त कर्मचारीलाई क्यूमा राखेर क्रमशः भुक्तानी गर्दै जाने उद्योगको नीति रहेको देखिन्छ ।

उद्योगले चालू आर्थिक बर्षको श्रावण, भाद्र र आश्विनको त्रैमासिक बिक्री लक्ष्य ३ लाख १४ हजार ८६० बोरा रहेकोमा साउनमा १ लाख ७ हजार ९६२ बोरा, भदौमा ९३ हजार ७२० बोरा र असौजमा १ लाख १४ हजार २२९ बोरा बिक्री गरी कुल ३ लाख १५ हजार ९३१ बोरा बिक्री गरी शतप्रतिशतभन्दा बढी लक्ष्य हासिल गर्न न्यौपाने सफल भएका छन ।

आन्तरिक लेखापरीक्षण, इआरपी अपग्रेडेसन, आ. ब. २०६३/६४ देखि आव २०७६/७७ सम्म १४ वर्षको वार्षिक साधारणसभा, वर्षौदेखि थुप्रो रहेको पत्रु लिलाम बिक्री, २० मिटर क्लिन सेल चेन्ज गर्न टेण्डर गरी सम्झौता सम्पन्न, आरएसपी जडानका लागि अध्ययनलाई तीव्रता, अनावश्यक दरबन्दी कटौती गरी ६१३ दरबन्दीबाट ५३३ मा झार्न सफलता मिलेको छ ।

साथै, कर्मचारीलाई दिनुपर्ने नियमित सुबिधा समयमै उपलब्ध गराएको, बिमाको कमिशन कर्मचारी कल्याण कोष खातामा जम्मा, औद्योगिक वातावरण निर्माण गर्दै सबै कर्मचारीलाई समान व्यवाहार जस्ता कामहरू न्यौपाने महाप्रबन्धक भएर गएपछि भएको प्रवक्ता लक्ष्मण पोखरेलले बताए ।

तत्कालीन समयमा आर्थिक अवस्था अत्यन्त जटिल थियो, तलब सुबिधा, बीमाको रकम, संचयकोष, उपदान, नागरिक लगानी कोष समेत बिगत ७ महिनादेखि २०७७ पुस महिनासम्म करोडौं बाँकी थियो तर महाप्रबन्धक न्यौपाने आएपछि सबैभन्दा पहिलो प्राथमिकता कर्मचारीको सेवा सुविधा भुक्तानी गरि नियमित गरेका छन् ।


क्लिकमान्डु