१२ मेगावाटको दोर्दीले पुसदेखि बिजुली उत्पादन गर्ने



काठमाडौं । ऊर्जा करिडोरका रुपमा स्थापित दोर्दी करिडोरमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ ।

सोही क्रममा आगामी तीन महिना अर्थात् पुस महिनाको अन्तिम सातादेखि निर्माणाधीन दोर्दी–१ जलविद्युत् आयोजनाबाट व्यावसायिकरूपमा बिजुली उत्पादन हुने भएको छ ।

दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन १२ मेगावाट क्षमताको यस आयोजनाको काम तीन महिनाभित्रै सम्पन्न हुने भएसँगै पुसदेखि बिजुली उत्पादन हुने भएको हो ।

आयोजना प्रमुख उज्वल सिलवालका अनुसार आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको छ । हालसम्म ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ भने १० प्रतिशत मात्र काम बाँकी रहेकाले तीन महिनाभित्रै सम्पन्न गर्दै बिजुली उत्पादन हुने उनको भनाइ छ । बिजुली उत्पादन गर्ने लक्ष्यअनुरुप काम अघि बढाइरहेकाले अब पुस महिनाभित्रै बिजुली उत्पादन हुने उनले बताए ।

यतिबेला विद्युतीय उपकरण जडान, पाइप जडान कार्य र वाइरिङको काम भइरहेको छ । विद्युत् उपकरण जडानको कार्य ९० प्रतिशत सम्पन्न भएको र अब एक महिनाभित्र काम सम्पन्न हुने आयोजनाले जनाएको छ ।

आयोजनाको ७०० मिटर पेनस्टक पाइपमध्ये ५० मिटर पाइप जडान हुन बाँकी छ । यस आयोजनाको २ हजार ५१५ मिटर लामो रहेको सुरुङ ब्रेक थु्र भइसकेको छ । त्यस्तै सिभिल संरचना निर्माणको काम सम्पन्न भएको छ ।

आयोजनाको बिजुली १३२ केभी कीर्तिपुर सवस्टेशनमा जोडिने छ । बाँधस्थलबाट कीर्तिपुरसम्म साढे तीन किलोमिटर रहेको छ । यहाँ १५ वटा टावर राख्ने काम सम्पन्न भएको र अब तार जोड्ने कार्य मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।

अधिकांश निर्माणका कार्य सम्पन्न गरिसकेको यस आयोजनाले यसअघि निर्माण कार्य लम्बिँदै गर्दा विद्युत् उत्पादन मिति पटकपटक म्याद राख्दै सार्दै आएको थियो ।

यसअघि गत असार महिनादेखि व्यावसायिकरूपमा बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य रहेको थियो तर कोभिड तथा बाढीपहिराले आयोजनामा पुर्याएको क्षतिलगायतका कारण देखाउँदै आएको छ ।

गत असारमा आयोजनाको हेडबक्स, पावर हाउसलगायत विभिन्न स्थानमा बाढीपहिराले क्षति पुगेपछि पुनः निर्माण अवधि लम्बिएको आयोजनाले जनाएको छ ।

कूल २ अर्ब २९ करोडको लगानीमा निर्माण कार्य सक्ने लक्ष्यका साथ विसं २०७४ बाट थालनी गर्दै विसं २०७६ चैत महिनामा सक्ने आयोजनाको लक्ष्य थियो ।

तर निर्माण अवधि कोभिड बाढीपहिरोलगायत विविध कारणले गर्दा लम्बिन पुग्दा लागत बढ्ने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार उक्त रकमभन्दा करिब ३० करोड बढी लाग्ने भएको छ ।

आयोजनामा हाल ७० जना कामदारले काम गरिरहेका छन् । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ४ रुपैयाँ ४० पैसामा विद्युत् खरीद सम्झौता (पिपिए) गरेको छ ।


क्लिकमान्डु