तिहारमा साढे १८ लाखबढी मालाको माग



काठमाडौं । तिहारको समयमा अन्य समयको तुलनामा फूलको खपत बढी हुन्छ । अझ विशेष गरी सयपत्री र मखमली फूलको माग अत्यधिक हुन्छ । फूल खेति गर्ने किसानहरुले पनि सोहीअनुसार खेति गर्ने गरेको पाइन्छ ।

गत वर्ष कोरोना महामारीका कारण व्यापार सुस्ताए पनि यो वर्ष भने फूलको व्यापार बढ्ने व्यवसायीहरुको अनुमान छ । फ्लोरिकल्चर एशोसिएसन नेपालले गत वर्षको तुलनामा यस वर्ष बढी माग आएको बताएको छ ।

एशोसिएसनका अनुसार वर्षको तिहारका लागि कुल १८ लाख ६५ हजार फूलमालाको माग छ । गत वर्षको तिहारमा १७ लाख ५० हजार मालाको माग भएको थियो ।

गत वर्ष १० करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा यो वर्ष १० करोड ९ लाख रुपैयाँको मात्रै कारोबार हुने एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । तर, यो वर्ष मूल्य घटेकाले कारोबार रकम भने घटेको उनको भनाइ छ ।

गत वर्ष कोभिडले गर्दा तिहारमा १५ लाख ३५ हजार सयपत्री फूलको मालाको खपत भएको थियो । यो वर्ष भने १५ प्रतिशतले माग बढेको एशोसिएनका अध्यक्ष तामाङले जानकारी दिए ।

उनकाअनुसार गत वर्ष तिहारमा १५ लाख ३५ लाख सयपत्री माग भएकोमा यो वर्ष १५ लाख ५० हजार सयपत्री फूलको मालाको खपत हुने अनुमान गरेको छ ।

‘कोरोना भाइरस महामारीले अवस्था सामान्य हुँदै गएकाले यो वर्ष सयपत्री फूलको १५ प्रतिशतले बजारमा मागमा वृद्धि हुने अनुमान गरिएको छ,’ अध्यक्ष तामाङले भने ।

तिहारमा माग बढेपछि आन्तरिक उत्पादनले धान्न नसक्ने भएकाले आयात गर्नुपर्ने एशोसिएसनले जनाएको छ । आन्तरिक उत्पादनतर्फ कोभिड–१९ र अत्यधिक वर्षा भएको कारण सयपत्री फूलको उत्पादनमा कमी आएको छ । त्यसैले, तिहारका लागि आवश्यक फूलको माग पूर्तिका लागि गत वर्षको तुलनामा आयातमा वृद्धि गर्नुपर्ने उनले बताए ।

नेपालले केही मात्रामा मात्रै सयपत्री फूल आयात गर्ने गरेको एशोसिएसनको तथ्याङ्कले देखाउँदछ । प्राप्त तथ्याङ्कअनुसार यो वर्ष तिहारमा १३ लाख १८ हजार माला आन्तरिक उत्पादनबाट र बाँकी २ लाख ३२ हजार सयपत्री फूलमाला आयात गरी आपूर्ति गर्नुपर्नेछ । गत वर्ष सोही समयमा लागि नेपालले १३ लाख ८२ हजार आन्तरिक उत्पादनबाट र १ लाख ५३ हजार सयपत्री फूल आयात गरी आपूर्ति गरेका थिए ।

यो वर्ष तिहारमा ८ करोड ५२ लाख रुपैयाँ बराबरको सयपत्री फूलमालाको कारोबार हुने जनाएको छ । त्यसैगरी, तिहारमा ३ लाख मखमली फूलमाला माग भएको छ । सो समयमा १ करोड ५ लाख रुपैयाँको मखमली फूलको माला कारोबार हुनेछ ।

साथै, यो तिहारमा गोदावरी फूलको माला १५ हजार माग भएको हुँदा ५२ लाख रुपैयाँको कारोबार हुने जनाएको छ ।

माग बढेपनि मूल्य सस्तो हुने
तिहारमा गत वर्षको तुलनामा यो वर्ष माग बढेपनि मूल्य भने घट्ने एशोसिएशनले जनाएको छ । जसमा गत वर्षको तिहारमा सयपत्री फूलको प्रतिमालाको थोक मूल्य औसत ६५ रुपैयाँ थियो । यो वर्ष भने १० रुपैयाँ घटेर औसत ५५ रुपैयाँ कायम गरेको अध्यक्ष तामाङ्ले बताए ।

त्यस्तै, बजारमा मखमली फूलको माला प्रतिमाला थोक मूल्य ३५ रुपैयाँमा तोकेको छ । गत वर्ष उक्त मालाको मूल्य ५० रुपैयाँ कायम गरेको थियो ।

साथै, एशोसिएसनले गोदावरी फूलको मालाको मूल्य भने ३ सय ५० रुपैयाँ कायम गरेको छ । गत वर्ष पनि एशोसिएसनले सोही मूल्य कायम गरेको थियो ।


क्लिकमान्डु