धानबालीमा भएको क्षतिको राहत नगदमै दिन र ब्याज मिनाहा गर्न मन्त्रालयको सिफारिस



काठमाडौं । बेमौसमी वर्षाका कारण पीडित किसानलाई नगदमै राहत दिन कृषि तथा पशुपन्छी मन्त्रालयले सरकारलाई प्रस्ताव गरेको छ ।

आज मंगलबार कृषि मन्त्रालयमा भएको संघ तथा प्रदेशस्तरीय समन्वय बैठकले क्षतिको वर्गीकरण गरेर नगद राहत उपलब्ध गराउन प्रस्ताव गर्ने निर्णय भएको मन्त्रालयको बिज्ञप्तिमा उल्लेख छ ।

प्रदेश कृषिमन्त्री र सचिवहरुसँग भएको छलफलमा किसानको अवस्था हेरेर बैंक साँवा र ब्याज मिनाहाका लागि सिफारिस गर्ने निर्णय समेत भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्षाका कारण पीडित किसानलाई पूर्ण क्षति, आंशिक क्षति र सामान्य क्षति पुगेको क्षेत्रफलका आधारमा निश्चित मापदण्ड बनाइ प्रतिइकाई क्षेत्रफल निश्चित रकम उपलब्ध गराउने, किसानको वर्गीकरणका आधारमा ऋण तथा ब्याज मिनाहा पहल गर्ने लगायतका विकल्पमा छलफल भयो ।’

बैठकले प्रदेशस्थित कृषि सम्वद्ध मन्त्रालयलाई क्षतिको कृषकस्तरको विवरण एक हप्ताभित्र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पेश गर्न पनि निर्देशन दिएको छ ।

क्षतिको विवरण प्राप्त भएपछि मात्रै राहतको टुंगो लाग्ने पनि मन्त्रालयले बिज्ञप्तिमा जनाएको छ ।


क्लिकमान्डु