निजी कम्पनीसँग साँठगाँठ गरेर नेपाल एयरलाइन्स ध्वस्त बनाउँदिनः पर्यटनमन्त्री आले



काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले निजी क्षेत्रको कम्पनीसँग साँगगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन् ।

मन्त्री आलेले विगतमा नेपाल वायु सेवा निगमको जहाजको ग्राउन्ड ल्यान्डिङ समेत आफ्नो व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने प्रतिवद्धता समेत जनाए ।

नेपाल पर्यटन बोर्डले मंगलबार आफ्नै स्वागतमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपाल वायु सेवा निगमको थन्किएर बसेको दुई वटा जहाजलाई तत्काल सञ्चालनमा ल्याएर नेपालमा पर्यटन भित्र्याउने काममा आफू लागि पर्ने कार्ययोजना पनि सार्वजनिक गरे ।

मन्त्री आलेले आईकाओको कालोसूचिबाट नेपाललाई हटाउन पनि आफूले पहल गर्ने बताए ।

त्यसका लागि आफूले निगमकै कर्मचारी संघ, संगठनहरुको माग अनुसार कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको गरेको उनले स्पष्ट पारे ।

अब निगमको बैठक बस्ने र त्यसले निगमको थन्किएर बसेको विमान संचालन गर्ने, पर्यटन प्रवद्र्धन हुने गरी उडान भर्ने लगायतका काम गर्ने मन्त्री आलेको भनाइ छ ।

‘नेपाल एयरलाइन्सका विमानलाई घाममा सुकाएर निजी एयरलाइन्ससँग सेटिङ गरेर उसलाई रातारात करोडपति बनाउने अनि नेपाल एयरलाईन्सको ग्राउन्ड ल्यान्डिङ कुनै निजी कम्पनीलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि दिने काम हुँदैन,’ उनले भने ।

उनले आफू आएको २४ घण्टा नबित्दै नेपाल एयरलाइन्सको १ सय ४ दिनदेखि लगाइएको तालाबन्दी खुलाएको बताउँदै त्यहाँका संघ, संगठन र युनियनका कर्मचारीहरुसँग वार्ता गरेर त्यो समस्या समाधान गरेको बताए ।

उनले क्याविनेटबाट निगमको अध्यक्ष नियुक्त गरेको बताउँदै अब निगममा थन्किएर बसेका २ वटा जहाज पनि सञ्चालनमा ल्याउने बताए ।


क्लिकमान्डु