दशैंलगत्तै फलामे डण्डीको मूल्य बढ्यो, केजीमै ७ रुपैयाँ बढ्दा उपभोक्ता मारमा



काठमाडौं । सरकारले आर्थिक विधेयक २०७८ बाट स्पञ्ज आइरनको भन्सार दर घटाएर स्टील विलेटमा अन्तःशुल्क लगाउँदा फलामे छड उत्पादन उद्योगमा राहत मिल्ने दाबी गरिएको थियो ।

सो व्यवस्थाले नेपालमा करिब ४० अर्ब आयात रोकिने र छडको मूल्यपनि घट्ने भनिएको थियो ।

तर, बजारमा भने उक्त प्रतिस्थापन विधेयकमार्फत् ल्याएको बजेटपश्चात फलामे डण्डीको मूल्यमा वृद्धि भएको छ । नेपालमा डेढ दर्जनबढी स्टील तथा डण्डी उद्योग छन् । उक्त उद्योगहरूले अन्तर्राष्टिय बजारमा मूल्य बढेको भन्दै मूल्य बढाएका हुन् ।

नेपालमा फलाम तथा स्टील उत्पादनको कच्चा पदार्थका लागि तेस्रो मुलुकमा भर पर्नुपर्ने अवस्था छ । जसले गर्दा नेपालमा अन्तर्राष्ट्रिय मूल्यले धेरै प्रभाव पार्ने उद्योगीहरूको भनाइ छ ।

उद्योगीहरूकाअनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा फलामे छडको मूल्य बढ्दा नेपालमा पनि बढेको हो । बजारमा मूल्य बढ्दा आम उपभोक्ता र निर्माण व्यवसायीमा भार थपि मारमा परेका छन् ।

पञ्चकन्या स्टील कम्पनीका मार्केटिङ गर्ने रस्मिता सैजुले दशैंपछि डण्डीको मूल्य बढेको बताइन् । उनकाअनुसार साउनसम्ममा प्रतिकेजी १ सय रुपैयाँसम्म कायम भएको डण्डीको मूल्य अहिले १ सय रुपैयाँबढी पुगेको हो ।

‘साउनसम्ममा सामान्य डण्डीको मूल्य १ सय रुपैयाँ थियो । साथै, दशैंअघिसम्म बढेर १०३ रुपैयाँ कायम भएको थियो । तर, अहिले प्रतिकेजी ५ देखि ६ रुपैयाँसम्म बढेको छ,’ उनले भनिन् ।

कम्पनीले अहिले कात्तिक महिनामा नयाँ मूल्य कायम गरेको छ । जसमा कम्पनीले ८ एमएमको प्रतिकेजी १०७ का साथै १० देखि २० एमएमको डण्डीको मूल्य १०४ र २५ एमएम डण्डीको मूल्य १०६ रुपैयाँ तोकेको उनले जानकारी दिइन् ।

लक्ष्मी स्टील कम्पनीमा बिक्री विभागका राजन बस्नेतले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यको आधारमा घटबढ हुने बताए ।

‘फलाम उत्पादनका लागि कच्चा पदार्थमा भारतमा भर पर्नुपर्ने हुँदा भारतमा बढ्दा बढ्ने र घट्दा घट्छ,’ उनले भने ।

कम्पनीले भ्याटसहित सामान्य डण्डीको मूल्य प्रतिकेजी ९७ रुपैयाँमा बिक्री गर्दै आएको थियो । जसमा ८ एमएमको प्रतिकेजी १ सय रुपैयाँ र ७ एमएमको डण्डी १०१ मा कम्पनीले बिक्री गर्दै आएको थियो । तर, अहिले दशैंलगत्तै अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा कम्पनीले प्रतिकेजी १०८ रुपैयाँसम्म प्रतिकेजी बिक्री गरिरहेको छ ।

हामा स्टीलले पनि दशैंलगत्तै प्रतिकेजी ७ रुपैयाँसम्म बढाएको छ । कम्पनीका बजार प्रबन्धक राजुकुमार थापाले सरकारले बिना अध्ययन र लोकप्रिय बजेट घोषणा गर्दा अर्बौ लगानी गर्नु पर्ने बाध्यता सिर्जना भएको बताए ।

दशैंअगाडिसम्म कम्पनीले ८ एमएम डण्डी प्रतिकेजी ९५ रुपैयाँमा बिक्री गर्दै आएको थियो । अहिले कम्पनीले सो डण्डीको मूल्य ७ रुपैयाँ बढाएर १०२ रुपैयाँ पुर्याएको छ । त्यसैगरी १० देखि २० एमएमको ९९ रुपैयाँ, २५ एमएमको १०१ रुपैयाँ, २८/३२ एमएमको र ४.७५/७ एमएमको १०२ रुपैयाँ प्रतिकेजी मूल्य तोकेको छ ।

त्यसैगरी अम्बे ग्रुपको स्टील शाखाका प्रमुख सुशील कार्कीले कम्पनीले डण्डीमा प्रतिकेजी ६ रुपैयाँसम्मले मूल्य बढाएको बताए । साउनसम्ममा १ सय रुपैयाँ बिक्री गर्दै आएकोमा दशैंअघि ४ रुपैयाँ घटेर ९६ रुपैयाँमा बिक्री गरेको कार्कीको भनाइ छ ।

तर, दशैंलगत्तकै कम्पनीले सबै खालको डण्डीमा ६ रुपैयाँ बढाए प्रतिकेजी १०३ रुपैयाँ कायम भएको छ । जसमा अम्बे स्टीलले ८ एमएम, ३२ एमएम, २८ एमएम र २३ एमएम डण्डीको मूल्य प्रतिकेजी १०३ रुपैया तोकेको छ । त्यस्तै कम्पनीले अम्बे स्टील १६ एमएम, १० एमएम, १२ एमएम र २० एमएम डण्डीको मूल्य प्रतिकेजी १ सय रुपैयाँ तोकेको छ ।

बजारमा दशैंलगत्तै डण्डीको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । उद्योगीहरू सामान्य रुपमा थपघट भएको जनाए पनि उपभोक्तालाई भने धेरै फरक पार्ने गर्दछ ।

नेपाल निर्माण व्यवासयी महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्रीको मूल्य बढ्दा कार्य अगाडि बढाउन कठिन भएको बताए । अधिकांश कम्पनीले पछिल्ला दिनमा विभिन्न बाहाना बनाउँदै मूल्य बढाउँदा निर्माण व्यवसायी मारमा परेको बताए ।


अरिष्मा मोक्तान