इपानले माग्यो उर्जामन्त्रीको राजीनामा



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको राजीनामा मागेको छ ।

इपानले ऊर्जा मन्त्रालयको काम अन्यत्रैबाट हुन थालेपछि अब मन्त्रीको काम नभएको बताएको छ । मन्त्रालय मार्फत हुने काम अब मुख्यसचिव मार्फत हुन थालेपछि मन्त्रीको काम नभएको टिप्पणी समेत गरेको छ ।

पछिल्लो पटक मुख्यसचिव शंकरदास बैरागीले गत असोज ७ गते मुख्यसचिव स्तरीय निर्णय गरी जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र, उत्पादन अनुमतिपत्र र विद्युत् खरिद बिक्री सम्झौता रोक्ने निर्णय गरेका छन् ।

मन्त्रालयमाफर्त हुने काम मुख्यसचिवले गर्न थालेपछि अब मन्त्रालयको काम छैन र मार्ग प्रशस्त गर्नुपर्छ भन्ने निष्कर्षमा आफूहरु पुगेको इपानको भनाइ छ ।

‘हामीले मन्त्रीमा को छ, सचिव को छ भन्ने हेरेका छैनौ, अब मन्त्री र सचिवले गर्ने काम मुख्यसचिव मार्फत हुन थालेपछि उनीहरुको के काम भयो भन्ने निष्कर्षमा हामी पुगेका हौं, इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले भने ‘ ऊर्जा उद्यमीलाई दुःख दिने नियत मात्रै मन्त्रालयमा देखियो ।’

उनले ऊर्जा मन्त्रालय मार्फत हुने काममा कुनै प्रगति नभएको बताए । विद्युत् नियमन आयोगले सहजीकरण र नियमन गर्नुको साटो दुःख दिने मात्रै काम गरेको इपानको भनाइ छ ।

मालपोत, नापी कार्यालयमा समेत एक दिनमा काम हुन्छ । आयोगले ऊर्जा उद्यमीको काम तीन महिनासम्म लम्ब्याउने गरेको छ । आयोगले सहजीकरण गर्ने भन्दा दुःख दिने नियत मात्रै राखेको इपानको भनाइ छ ।

‘सधै नेतृत्वलाई देखाएर पन्छिने काम आयोगले गरेको छ । हामीले असाध्यै दुःख पायौ । अब कति दिन सहेर बस्ने ?’ इपानका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईले भने ।

मन्त्रालयको नेतृत्व र प्राधिकरणले समेत ऊर्जा उद्यमीलाई पेल्ने काम गरेको उनले बताए । जताबाट पनि निजी लगानीकर्तालाई समस्यामा पार्ने र ठोक्ने नीति लिएको देखियो, उनले भने ।

इपानले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा आक्रोशित मुद्रामा देखिएका ऊर्जा उद्यमीले पहिले पहिले सरकार सहजीकरण गर्ने तरिकाले प्रस्तुत हुने गरेकामा पछिल्ला दिनमा हरेक क्षेत्रमा बाधक देखिएको बताए ।

‘निजी क्षेत्र भनेको सरकारले राम्रो बाटो बनाए, तिव्र गतिमा गाडी गुडाउने हो, अहिले त सरकार नै ऊर्जाको राजमार्गमा खाल्डो पार्न लागेको छ’ पूर्व अध्यक्ष गुगाराईले भने ।

इपानले मन्त्रालय। प्राधिकरण, आयोग, बीमा समितिलगायतका निकायसँग छलफलका लागि पदाधिकारीलाई जिम्मा दिएको छ । कतैबाट पनि सकारात्मक जवाफ नआउने अवस्था सिर्जना भएको छ ।

इपान अध्यक्ष आचार्यले पशुपतिनाथमा गरिने पूजा र प्रार्थनाको प्रसंग जोड्दै भने ‘ पशुपतिनाथमा गएर केही मागियो भने पशुपतिनाथ बोल्दैनन् । हामी मात्रै माग्छौ । यतिबेला ऊर्जा मन्त्री र ऊर्जा सचिवले पनि आफूलाई पशुपतिनाथ जस्तै व्यवहार देखाएका छन् ।’

हुँदैन कुनै पनि नभन्ने, केही काम नै नगर्ने अवस्था मन्त्रालयमा देखिएको आचार्यको भनाइ छ । पछिल्लो २ वर्षदेखि विद्युत् खरिद सम्झौता रोकिएको उनले बताए ।

सरकार २ हजार मेगावाट बिजुली प्रणालीमा जोडिएदेखि नै आत्तिएको उनको भनाइ छ । विद्युत् उत्पादन बढाउने, आर्थिक समृद्धि गर्ने विषयलाई सरकारले ध्यान नदिएको इपानका उपाध्यक्ष मोहन डाँगीको भनाइ छ ।

‘दुई हजार मेगावाट हुने बित्तिकै आत्तिने भएपछि यस्तो सरकारले १० वर्षमा १५ हजार मेगावाट बनाउँछ भनेर अब कसरी पत्याउने’ उनले भने ।

पछिल्ला दिनमा सरकार हरेक काममा बाधक देखिएको भन्दै इपानका पदाधिकारीले आक्रोश व्यक्त गरे । ७ मन्त्रालय २३ विभाग चाहार्नुपर्ने बाध्यता छदै थियो, त्यसमाथि ऊर्जा मन्त्रालयले नै पछिल्ला दिनमा कहिले अर्थ मन्त्रालयलाई देखाएर त कहिले वन मन्त्रालयलाई देखाएर पन्छने गरेको इपानको आरोप छ ।

इपानले काम गर्न नसक्ने मन्त्रालय, विभाग, प्राधिकरणका सबै नेतृत्वले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।


क्लिकमान्डु