वर्षाका कारण ३ प्रदेशमा ७ अर्ब बढीको धानबाली क्षति, २ लाख हेक्टरमा असर



काठमाडौं । असोज ३१ गतेदेखि बेमौसमी वर्षका कारण तीन वटा प्रदेशमा ७ अर्ब बढी धानबालीको क्षति भएको छ । कृृषि तथा पशुपन्छी मन्त्रालयले जारी गरेको विवरणअनुसार तीन वटा प्रदेशमा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली क्षति भएको जनाएको छ ।

लुम्बिनी, सुदूरपश्चिम र प्रदेश १ ले मन्त्रालयमा प्राप्त गरेको प्रारम्भिक विवरणअनुसार ३ वटा प्रदेशमा मात्रै ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी र वर्षाले क्षति पुर्याएको उल्लेख छ ।

लुम्बिनी प्रदेशमा ४२ हजार ४ सय २७ हेक्टर क्षेत्रफलमा उत्पादन भएका १ लाख ६१ हजार २ सय २३ मेट्रिक टन धानबाली क्षति पुगेको छ । जसमा सो प्रदेशमा अनुमानित रकमअनुसार धानबालीमा ४ अर्ब ५१ करोडको मूल्य बराबरको क्षति पुगेको छ । उक्त प्रदेशमा सबैभन्दा बढी बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा भएको जनाएको छ ।

त्यसैगरी, कैलाली र कञ्चनपुरमा बढी प्रभावित भएको सुदुपश्चिम प्रदेशमा वर्षाका कारण १८ हजार हेक्टर क्षेत्रफलमा उत्पादन भएका ६८ हजार ४ सय मेट्रिक टन धानबाली नष्ट भएको जनाएको छ । सार्थै, अनुमानित रकमअनुसार १ अर्ब ९१ करोडको धानबाली नष्ट भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयलाई प्रदेश १ ले दिएको विवरणअनुसार सो प्रदेशमा ७ हजार ४ सय ९२ हेक्टर क्षेत्रफलमा उत्पादन भएका २८ हजार ४ सय ६९ मेट्रिक टन धानबालीमा क्षति पुगेको छ । उक्त प्रदेशको क्षति भएको अनुमानित मूल्याङ्कनअनुसार ८० करोडको क्षति भएको मन्त्रालयले उल्लेख गरेको छ । सो प्रदेशमा सबैभन्दा बढी झापा, मोरङ र सुनसरीमा बढी प्रभावित भएको मन्त्रालयले उल्लेख गरेको छ ।

साथै, मन्त्रालयको विवरणअनुसार धानबालीमा १ लाख ९८ हवार ५ सय २१ हेक्टर क्षेत्रफलमा वर्षाले असर गरेको जनाएको छ । जसमा लुम्बिनी प्रदेशमा ९३ हजार ५ सय ७६ हेक्टर, सुदुरपश्चिममा ५५ हजार हेक्टर र प्रदेश १ मा ४९ हजार ९ सय ४५ हेक्टर क्षेत्रफलमा बेमौसमी वर्षाले असर पु¥याएको छ ।


क्लिकमान्डु