धनी वर्गमा सीमित हुँदै च्यांग्राको मासु, उत्पादन कम हुँदा भाउ बढ्यो, आपूर्ती छैन



काठमाडौं । दशैं र तिहारलगायतका चाड पर्वमा हाम्रा लागि परिकारमा मासु अनिवार्य जस्तै बनेको छ । चाडपर्वमा बली दिने प्रथाले पनि मासुको महत्व बढाएको पाइन्छ । खास गरी चाडपर्वका समयमा चिकन, मटनलगायतका मासुका थरीथरीका परिकार भान्साका अभिन्न खान्की जस्तै भएका छन् ।

काठमाडौं लगायतका सहरमा त दशैंमा सिंगै खसी काटेर खाने चलन पनि नौलो होइन । तर पछिल्लो समय खसी जस्तै च्यांग्रा खाने चलन पनि उसैगरी बढेको छ । तर बजारमा पर्याप्त मात्रामा च्यांग्रा उपलब्ध नहुँदा च्यांग्राको मासुका परिकार सीमित भान्सामा मात्रै पाक्ने पक्का छ ।

एकातिर उत्पादन कम हुँदा च्यांग्राको आयात कम भएको छ भने अर्कोतर्फ पाए पनि निकै महंगो पर्न थालेको छ । जसले गर्दा निम्नवर्गीय परिवारबाट च्यांग्राको खपत धनी वर्गमा सीमित हुन पुगेको छ ।

३ दशक अगाडिसम्म हिमाली जिल्लाबाट पर्याप्त संख्यामा च्यांग्रा काठमाडौंंसम्म आयात हुन्थ्यो । जसले उपत्यकाबासी धेरैले च्यांग्राको मासुको स्वाद सहजै लिन पाएका थिए । तत्कालीन समयमा ती क्षेत्रमा च्यांग्राको संख्या बढी हुँदा माग र आपूर्तीका कारण काठमाडौंसम्म च्यांग्रा आइपुग्थे । तत्कालीन समयमा एउटा च्यांग्रालाई प्रतिगोटा ५ सय रुपैयाँदेखि ७ सय रुपैयाँसम्म खरिद बिक्री हुन्थ्यो ।

तर पछिल्लो समय माग र आपूर्तीबीचको सन्तुलन नमिल्दा च्यांग्राको मासु प्रतिकेजी २ हजार रुपैयाँसम्म हुन थालेको छ । जसले गर्दा कम बजेटमै दशैं मनाउनेका लागि च्यांग्राको मासुको मूल्य सुन्दै तर्सने अवस्था आएको छ ।

शुरुवाती दिनमा च्यांग्रा उच्च हिमाली क्षेत्रका साथै तिब्बतबाट बढी आयात हुन्थ्यो । ती क्षेत्रमा च्यांग्रा पालन बढी हुने तर खपत कम हुँदा राजधानी काठमाडौंसम्म आइपुग्थे ।

तर पछिल्लो समयमा चिनियाँ बजारमा हुने खपत अत्यधिक भएपछि राजधानीसम्म आइपुग्ने च्यांग्राको संख्या कम हुन थालेको छ । यसले नेपाली बजारमा मागअनुसारको आपूर्ती नहुँदा भाउ बढेको देखिन्छ ।

दशैंकै लागि भनेर सरकारी तथा नीजि क्षेत्रले अत्यधिक मात्रामा मासुजन्य पदार्थ उपत्यकामा भित्र्याउने गर्दछ ।

करिब २५ वर्ष जब च्यांग्रा सस्तो थियो त्यो च्याङ्ग्रा निम्न वर्गले खाने प्रचलन थियो । त्यो बेलामा खसीबोकाको मासु च्यांग्राको मासुको मूल्य करिब दोब्बर जस्तै थियो । खसी किन्न नसक्नेका लागि च्यांग्रा नै उपयुक्त विकल्प जस्तै भएको नेपाल चौपाया खरिद बिक्री संघका अध्यक्ष सन्तोष खत्रीको भनाइ छ ।

बुबाले शुरुवात गरेको व्यवसायलाई निरन्तरता दिँदै आएका खत्रीले विगतमा गरिब वर्गले खाने च्याङ्ग्रा अहिले धनी वर्गमा पुगेको अनुभव सुनाउँछन् ।

‘२०५५ सालभन्दा अघि नेपालमा च्याङ्ग्रा खाने भनेको निकै न्यून वर्गले खाने प्रचलन थियो । त्यसबेला खसीबोका खरिद गर्न क्षमता नभएका परिवारले च्याङ्ग्रा किनेर दशैं मनाउने गर्दथे । तर, २०५५ सालपश्चात भने खाने परिवारमा परिवर्तन हुन थालेको हो,’ उनले भने ।

ढिँडोको उदाहरण दिँदै उनले भने, ‘जसरी धनी वर्गमा ढिँडो खाने चलन बढ्यो, च्याङ्ग्राको मासु खाँदा त्यसबाट फाइदा हुने भन्दै खपत गर्ने वर्गमा समेत परिवर्तन आएको हो ।’

२०५५ अघिसम्म नेपालमा अधिकतम मूल्य प्रतिवटा ७ सय रुपैयाँ पाउने च्याङ्ग्रा हाल प्रतिकेजी नै २ हजार बढी पुगेको छ । यसमा सबैभन्दा बढी आपूर्तिको ठूलो भूमिका रहेको व्यवसायी खत्रीको भनाइ छ ।

२५ वर्षअघि नेपालले चीनबाट च्याङ्ग्रा आयात गरी दशैंमा उपत्यकाबासीले खपत गर्दथे । त्यो बेला मानिसहरूले अत्यधिक खसीको मासु खाने भएकाले च्याङ्ग्रा मासुजन्य वस्तुको प्राथमिकतामा पर्दैनथ्यो । तर, अहिले यही च्याङ्ग्राको माग बढेकाले मूल्यमा निकै आकासिएको छ ।

त्यो समयमा च्यांग्राको मासु प्रतिकेजी १ सयदेखि १५० रुपैयाँसम्म बिक्री हुन्थ्यो भने अहिले त्यो मूल्य प्रतिकेजी २ हजार पुगेको छ । यो हालका समयमा खसीको मासुको तुलनामा करिब दोब्बर हो । २०६२ सालसम्म पनि च्यांग्राको मासु प्रतिकेजी ५ सय रुपैयाँमै बिक्री हुन्थ्यो ।

‘पहिले च्याङ्ग्रा निकै दुब्लो र हेर्दा लामो कपाल भएकाले मानिसहरू च्याङ्ग्रा खाना हिच्किच्याउँथे,’ उनले भने, ‘बिस्तारै हिमाली भेगमा पाउने च्याङ्ग्राको बोसो कम र जडीबुटी खाएको जनावरको मासु खाँदा फाइदा हुने सोचका कारण च्याङ्ग्राको माग बढ्न थालेको हो ।’

साथै, त्यसबेला तिब्बतबाट उच्च रुपमा आयात भएकाले पनि सजिलै च्याङ्ग्रा पाउने भएकाले सस्तो हुन पुगेको उनको भनाइ छ ।

सामान्यतया च्याङ्ग्राको खाने वर्गमा परिवर्तन हुनुमा च्याङ्ग्राको मासु खानुको फाइदा बुझ्नाले खसीबोकाबाट च्याङ्ग्रामा परिणत भएको र आपूर्ति सहज नहुँदाले गर्दा मूल्य बढेको उनले बताए ।

विगतका दिनमा व्यवसायीहरूले तीब्बतमै गएर व्यवसायीले छनौट गरेर ठूलो संख्यामा नेपालमा च्याङ्ग्रा भित्र्याउने गर्दथ्यो । साथै, नेपालका हिमाली क्षेत्रमा रहेका कृषकले उत्पादन गरेको पनि अत्यधिक मात्रामा बजारमा बिक्रीका लागि ल्याइन्थ्यो । तर, अहिले तीब्बतबाट पनि कम आयात हुने र हिमाली क्षेत्रका कृषकले स्थानीय क्षेत्रमै खपत हुँदा बजारमा पर्याप्त मात्रामा च्याङ्ग्रा नपाएको उनी बताउँछन् ।

हाल दशैंलक्षित विभिन्न सरकारी संस्थान र निजी क्षेत्रले दशैंका लागि खसीबोका, च्याङ्ग्रा भेडा ल्याउने तयारी गरेका छन् ।

अहिले दशैंमा मात्रै ५० हजारभन्दा बढीको संख्यामा खसीबोका खपत हुन्छन् भने करिब ८ हजार च्याङ्ग्रा खपत हुने गर्दछ । तर, बजारमा पर्याप्त मात्रामा च्याङ्ग्रा नपाएपछि व्यवसायीले निकै न्यून रुपमा मात्रै आयात गर्न सकेको व्यवसायीहरुको भनाइ छ ।

कोरोना महामारीले गर्दा तीब्बतसँग आवातजावत ठप्प भएपछि च्याङ्ग्रा ल्याउन निकै कठिन भएको उनीहरुको तर्क छ ।

गत वर्ष सरकारी कम्पनीले १४ सय च्याङ्ग्रा ल्याउने भनेपनि मुस्ताङ, जोमसोममै मूल्य चर्को भएपछि ल्याउन सकेको थिएन । तर, निजी कम्पनीले करिब ३५ सयको हाराहारीमा च्याङ्ग्रा ल्याएर उपत्यकाबासीलाई खुवाएका थिए । यो वर्ष भने सरकारी तथा निजी दुबै क्षेत्रले ल्याउन सक्ने अवस्था छैन ।

व्यवसायीहरूले अहिले दशैंका लागि भनेर जोमसोम, मुस्ताङमा च्याङ्ग्रा खरिद गर्न जाँदा च्याङ्ग्रा नपाएको बताएका छन् । जोमसोममा च्याङ्ग्रा खरिद गर्न गएका व्यवसायी रमेश पराजुलीले २ हजार च्याङ्ग्रा ल्याउन पनि मुश्किल भएको बताए ।

‘हाल जोमसोम, मुस्ताङलगायतका स्थानमै प्रतिकेजी १२ सयदेखि १३ सय रुपैयाँसम्म पुगेको छ,’ उनले भने, ‘उक्त च्याङ्ग्रा खरिद गरेर ल्याएमा उपत्यकाबासीलाई प्रतिकेजी १५ सयदेखि २ हजारसम्म पर्नेछ ।’

त्यस्तै, उपत्यकामा मात्रै नभएर बढी च्याङ्ग्रा पोखरामा खपत हुने खत्रीले बताए । यो वर्ष पोखरामा मात्रै करिब ४ हजार च्याङ्ग्रा ल्याउने तयारी छ । तर उपत्यकाबासीलाई करिब ३ हजारको हाराहारीमा च्याङ्ग्रा आउने सम्भावना रहेको उनले बताए ।


अरिष्मा मोक्तान