चिनियाँ नाकामा अड्कियो अर्बौंका कपडा, आन्तरिक उत्पादनले धान्दै बजार



काठमाडौं । नेपालीहरूको महान चाडपर्व दशैंतिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको बजारमा भिड बढ्न थालेको छ । करिब डेढ वर्षदेखि कोरोना महामारीका कारण अस्तव्यस्त बनाएको व्यापार विस्तारै चलायमान हुँदै गएको अवस्था छ ।

गत वर्ष पहिलो चरणको कोभिडले गर्दा निकै थलिएको बजारमा विभिन्न समस्यासहित दशैंतिहार मनाउनु पर्ने बाध्यता सिर्जना भएको थियो ।
साथै, गत वर्ष कोभिड–१९ का कारण व्यापार राम्रोसँग गर्न नपाएको व्यवसायीहरूले बताएका थिए । सामान्य अवस्थाको तुलनामा वार्षिक व्यापार हुनेको ४० प्रतिशत दशैंतिहार हुने गर्दछ । सोहीअनुसार उद्योगी र व्यापारीले बजारका लागि आवश्यक लत्ताकपडा आयात र अर्डर गर्ने गर्दछन् ।

नेपालमा अधिकांश तयारी कपडा तथा इलेक्ट्रिक सामग्री चीनबाट आयात हुन्छन् । कोभिड–१९ को महामारी फैलिएसँगै चीनतर्फको नाका हालसम्म सहज हुन सकेको छैन । गत वर्ष चीनतर्फको नाका सहज हुन नसक्दा नेपाली व्यवसायीले भनेअनुसारको तयारी कपडा उपभोक्तालाई उपलब्ध गराउन सकेको थिएन । त्यस्तै, यो वर्ष चीनतर्फको नाका सहज हुन नसक्दा अर्बौंको मालवस्तु नाकामा अड्किएको व्यवसायीहरूले बताएका छन् ।

हाल दशैं नजिकिँदै गर्दा उपत्यकाको व्यापार केन्द्र मानिने न्यूरोड र महाबौद्धमा भिड बढ्न थालेको छ । उपत्यकाका वरिपरिका क्षेत्रमा रहेका खुद्रा व्यवसायीहरूले दशैं तिहारलाई आवश्यक पर्ने लत्ताकपडा खरिद गर्न शुरू गरिसकेका छन् । विगतको दिनमा अत्यधिक मात्रामा आयातमा भर पर्ने बजार कोभिडपश्चात भने आन्तरिक उत्पादनले बजार धान्ने भएको छ ।

महाबौद्धका व्यवसायीअनुसार चीनतर्फको नाकाबाट सहज आयात हुन छोडेपछि व्यापारीहरूले आन्तरिक उद्योगले उत्पादन गरेको तयारी पोसाकको खपत गरेको हो ।

न्यूरोडस्थित भासिको टोलको लक्ष्मी नारायणका सञ्चालक अर्थात् आयातकर्ता विशाल नारायण भारीले दशैं नजिकिँदै गर्दा व्यापार बढ्न थालेको बताए । विगतको दिनमा चीनबाट मात्रै आयात गरी बिक्री गर्दै आएको उनले अहिले भने आन्तरिक बजारबाट उत्पादित तयारी पोसाक बिक्री गरिरहेका छन् ।

‘कोभिडअघि मैले सम्पूर्ण तयारी पोसाक चीनबाट आयात गरी बिक्री गर्दै आएको थिएँ,’ उनले भने, ‘कोभिडले गर्दा चीनतर्फबाट आयात हुने तयारी पोसाकको कुनै टुङ्गो छैन । त्यसैले अहिले आन्तरिक उत्पादनले आफ्नो ग्राहकलाई धानिरहेको छ ।’

उनले दशैंतिहारको लागि करिब ४ महिनाअघि अर्डर पठाएका थिए । अर्डर गरेका सामान केरुङ नाकामा अड्किएका छन् । करिब २५ वर्षदेखि निरन्तर सोही क्षेत्रमा आयातकर्ताको रुपमा काम गर्दै आएका उनले गत वर्षदेखि नेपाली पोसाक नै बिक्री गरिरहेको जानकारी दिए ।

हाल चीनबाट आयात गर्न नसके पनि बजारमा भने तयारी पोसाकको कमी नरहेको उनको भनाइ छ ।

विगतका वर्षमा चीनमा गएर आवश्यक तयारी पोसाक छनौट गरी ल्याउने प्रचलन थियो । कोभिडले गर्दा भने विगतको जसरी छनौट गरी ल्याउन नसकिएको जिन्स एक्सप्रेसका सञ्चालक प्रमोद गोअली बताउँछन् ।

उनकाअनुसार दशैंतिहारका लागि ७५ लाख रुपैयाँ रकम बराबरको तयारी पोसाक अर्डर गरिएको थियो । अर्डर गरेका तयारी पोसाक हाल नाकामै अड्किएका छन् । तर, नाकामा अड्किए पनि मागअनुसारको तयारी पोसाक भने उपलब्ध रहेको उनले जानकारी दिए ।

गोल्डेन शु सेन्टरका सञ्चालक सन्ध्या पाण्डले पनि चीनबाट समयमै बजारमा जुत्ताचप्पल उपलब्ध नहुँदा व्यापार गर्न कठिनाई भएको बताइन् । अधिकांश चीनबाट आयात गरी बिक्री वितरण गरिरहेको अवस्थामा कोरोनाले निकै प्रभावित भएको बताइन् ।

तयारी पोसाक आयातकर्ता गुरु धमलाले पनि चीनतर्फको नाका सहज हुन नसक्दा अन्तरिक बजारको तयारी पोसाक फस्टाएको बताए ।

मान्य अवस्थामा स्वदेशी उत्पादन भन्ने वित्तिकै खरिद गर्न नमान्ने व्यवसायीले अहिले बजारमा आयातित तयारी पोसाक नपाएपछि स्वदेशी उत्पादन नै खपत गरिरहेका छन् । साथै, बजारका कुनै तयारी पोसाकको कमी नरहेको उनी बताउँछन् ।

चीनबाट आयात नभएपछि आन्तरिक उत्पादनले धान्दै
चीनबाट दशैंतिहारका लागि पर्याप्त मात्रामा तयारी पोसाक आयात नभएपछि आन्तरिक बजार भने फस्टाउँदै गएको छ । विगतका दिनमा स्वदेशी उत्पादनले थोरै मात्रामा स्थान पाउने गरेको व्यवसायीहरूको भनाइ छ ।

तर, अहिले कोभिडपश्चात भने आन्तरिक बजारको उत्पादनले बजारको आपूर्ति गरिरहेको आयातकर्ताहरूको भनाइ छ ।

‘एकातिर कोभिडले गर्दा धेरै व्यवसायीको लाखौंको तयारी पोसाक अड्किएको छ । उक्त तयारी पोसाक अड्किए पनि बजारमा लुगाको अभाव भएको छैन,’ जिन्स एक्सप्रेसका सञ्चालक प्रमोद गोअलीले भने ।

गोअली मात्रै नभएर महाबौद्धका अधिकांश व्यवसायीहरूको भनाइ एउटै रहेको छ । बजारमा तयारी पोसाक मौसमअनुसार सधैं आवश्यक पर्ने भएकाले चीनतर्फको नाका बन्द हुँदा नेपाली उद्योगको उत्पादनले बजारको आपूर्ति पूरा गर्नु ठूलो उपलब्धि रहेको उनीहरूको भनाइ छ ।

त्यसैगरी, दशैंतिहारमा अधिकतम बिक्री हुने पाइन्ट, टि–सर्ट, ज्याकेट, स्वेटरलगायत अन्य सम्पूर्ण तयारी पोसाकमा चीनबाट आयात नभएपनि मागअनुसार आपूर्ति भइरहेको आयातकर्ताहरूको बुझाइ छ । तर, आन्तरिक बजारले माग गरेअनुसार आपूर्ति गरेपनि विभिन्न प्रकारका नयाँ डिजाइनको उपलब्धता भने न्यून रहेको छ ।

चीनको नाकामा करिब हजार कन्टेर अड्कियो
कोरोना महामारीले असहज बनेको उत्तरी नाका हालसम्म सहज हुन सकेको छैन् । सामान्यतया चीनबाट आयात हुने मालवाहक कन्टेनर दैनिक १८/१९ वटा भित्रिँदै आएकोमा अहिले भने उक्त नाकाबाट दैनिक ७ देखि १० वटासम्म मात्रै भित्रिएको हिमालय सिमापार व्यापार संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार अहिले करिब उक्त नाकामा करिब १ हजार कन्टेनर अड्किएका छन् । त्यसमा तयारी पोसाक मात्रै नभएर अन्य खाद्यान्नलगायत इलेक्ट्रिक सामग्री अर्बौको अड्किएको उनको भनाइ छ ।

‘कोरोनाले गर्दा ठप्प भएको नाका बिस्तारै खुल्न थालेको छ । नेपालमा दशैंका लागि भनेर नेपालका अधिकांश व्यापारीले करिब ६ महिनादेखि अर्डर गरेका थिए । तर, हाल उक्त अर्डर गरेको सम्पूर्ण कन्टेनर नाकामा अड्किएको छ,’ उनले भने ।

व्यापार संघले करिब डेढ वर्षदेखि असहज बन्दै गएको नाका चीन सरकारलाई सहज बनाउनका लागि सरकारसँग बरम्बार सम्बोधन गर्दासमेत कुनै सम्बोधन नभएको उनको गुनासो छ ।

दशैंतिहार नजिकिँदै गर्दा आवश्यक कन्टेनर पास गर्नका लागि उद्योग मन्त्रालयसँग सहकार्य गरिरहेको बताए । त्यसैगरी, तोतोपानी नाका केही सहज हुन सकेपनि रसुवागढी भने तत्कालका लागि सहज नहुने अवस्था देखिएको जिकिर गरे ।


अरिष्मा मोक्तान