पुसभित्र एकीकृत कारोबार गर्ने लक्ष्यसहित यसरी हुँदैछ नेपाल इन्भेष्टमेन्ट र हिमालयनको मर्जर



काठमाडौं । पुसभित्र एकीकृत कारोबार गर्ने लक्ष्यका साथ नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया अगाडि बढेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच वैशाख ३० मा हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक हुने गरेर मर्जरको प्रक्रिया अगाडि बढेको थियो । नेपाल राष्ट्र बैंकले मर्जरका लागि सैद्दान्तिक स्वीकृति दिइसकेको छ ।

दुई बैंकले असोज मसान्ततभित्रमा एकीकृत कारोबार गर्ने तयारी थियो । तर, मर्जरमा हुने ढिलाइले असोजभित्र एकीकृत कारोबार असम्भव बनेको छ ।

दुईवटै बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा बुझाइसकेका छन् । नेपाल राष्ट्र बैंकले वित्तीय विवरणलाई स्वीकृति दिएपछि दुबै बैंकले गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने छन् । दुवै बैंकले लाभांश स्विकृतिका लागि हुने वार्षिक साधारणसभामा नै मर्जरमा जाने प्रस्ताव पारित गर्ने तयारी गरेका छन् ।

गत आर्थिक वर्षको लेखापरीक्षण नभएको वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई १२.२४ तथा हिमालयन बैंकको २० प्रतिशत लाभांश दिने क्षमता छ ।

असार मसान्तमा उठ्नुपर्ने ऋणको किस्ता र ब्याज भदौ १५ सम्म उठेपनि लाभांश बाँड्न पाइने व्यवस्था तथा पूर्ण लेखापरीक्षण हुँदा लाभांश भने फरक पर्छ ।

दुबै बैंकका सञ्चालकसँग कुराकानी गर्दा दशैं अगाडि लाभांश घोषणा गर्ने तथा मंसिरमा साधारणसभा बोलाउने तयारी भएको देखिन्छ ।

‘राष्ट्र बैंकमा दुवै बैंकले वित्तीय विवरण स्वीकृतिका लागि पठाएका छन्, एउटै समयमा लाभांश घोषणा र साधारणसभाको प्रक्रिया अगाडि बढ्छ, मंसिरको अन्तिम साता वा पुसको पहिलो साता साधारणसभा गरेर पुसको अन्तिम साता एकीकृत कारोबार गर्ने तयारी भएको छ,’ नेपाल इन्भेष्टमेन्ट बैंकका एक सञ्चालकले भने ।

हिमालयन बैंकका केही सेयरधनी मर्जर भाँड्न लागेपनि त्यो प्रक्रिया भने रोकिने सम्भावना छैन । हिमालयन बैंकका सेयरधनी रहेका मनोजबहादुर श्रेष्ठले मर्जर प्रक्रियामा असहमति जनाएका छन् ।

हिमालयन बैंकका अध्यक्ष रहेका कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतम फिर्ता भएपछि नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जर नहुने आशंका पनि छ ।

‘मर्जर नचाहने सेयरधनी हाम्रोमा पनि छन्, हिमालयनमा छन् तर, उहाँहरुलाई चित्त नबुझेपनि प्रभाव पार्ने सम्भावना छैन,’ इन्भेष्टमेन्टका एक सञ्चालकले भने ।

मनोजबहादुरले आफ्नो समूहको गरेर २० प्रतिशत स्वामित्वमा प्रभाव पारेपनि मर्जर प्रक्रिया नै रोक्ने गरेर अगाडि बढ्न सम्भव छैन । नेपाल राष्ट्र बैंकले मर्जरमा नगएमा जरिवाना समेत लगाउने तथा राष्ट्र बैंकको इच्छापनि बिग मर्जर भएको हुँदा मर्जर प्रक्रिया भाँडिने सम्भावना छैन ।

दुई बैंक मर्ज भएपछि चुक्ता पूँजी सबैभन्दा ठूलो हुने । नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक १ः१ अनुपातमा मर्जर हुन लागेका छन् । जसअनुसार मर्जरपछि बन्ने हिमालयन इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी करिब २७ अर्ब हुन्छ । जसमा दुई बैंकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिने हुँदा एकीकृत कारोबार हुँदा चुक्ता पूँजी ३० अर्बभन्दा बढी हुन्छ ।

जुन नेपालका वाणिज्य बैंकमा सबैभन्दा बढी हो । निक्षेप ३ खर्ब २० अर्ब तथा कर्जा ३ खर्ब १० अर्बभन्दा बढी हुनेछ ।


पुष्प दुलाल