दशैंलक्षित मोटरसाइकलको आयात उच्च



काठमाडौं । दशैं नजिकिँदै गर्दा नेपालका आधिकारिक बिक्रेता मोटरसाइकल तथा स्कुटर कम्पनीले विभिन्न अफर सार्वजनिक गरेका छन् । उक्त अफर सार्वजनिक भएसँगै मोटरसाइकल तथा स्कुटर किन्नेको संख्या बढेको व्यवसायीहरूले बताएका छन् ।

गत वर्ष कोरोना महामारीका लामो समय बन्दाबन्दी भएको उक्त क्षेत्र निकै प्रभावित भएका थिए । तर, सरकारले बजार खुकुलो गर्ने वित्तिकै सम्पूर्ण ग्राहकहरूको लागि अफर सार्वजनिक गर्दै आकर्षित गरेका थिए ।

गत वर्ष साउनमै उपभोक्ताहरूलाई अफर सार्वजनिक गरी अत्याधिक व्यापार गरेको कम्पनीले दशैंमा पुनः अफर सार्वजनिक गरेको थियो । सोही अनुसार व्यापार बढेको व्यवसायीहरूको भनाई थियो ।

सामान्य अवस्थामा नाडा अटो शोमार्फत् अफर सार्वजनिक गर्दै आएको व्यवसायीहरूले कोरोनाले गर्दा गत वर्षदेखि नाडा अटो शो हुन सकेन । तर, व्यवसायीहरूले आफ्नै कम्पनीमा विभिन्न अफरसहित अफर सार्वजनिक गर्दै आएका छन् ।

नेपालीहरूको महान चाडपर्व नजिकिँदै गर्दा उद्योगी तथा व्यवसायीहरूले दशैंलक्षित मोटरसाइकल तथा स्कुटर आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

वार्षिक रुपमा व्यापार हुनेको करिब ४० प्रतिशत दशैं र तिहारको समयमा बिक्री भएकाले सोहीअनुसार आयात गरेको व्यवसायीहरूको भनाई छ ।

चालु आवको दुई महिनाको अवधिमा नेपालमा ६ अर्ब १८ करोड ५९ लाख रुपैयाँ बराबरको ६४ हजार ४१४ वटा मोटसायकल आयात गरेको छ । उक्त आयातित मोटरसाइकल तथा स्कुटरबाट सरकारले ६ अर्ब १४ करोड ५० लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

त्यस्तै, गत वर्षको सोही अवधिमा नेपालले २ अर्ब ५७ करोड १५ लाख रुपैयाँ बराबरको २७हजार ९ सय ८० वटा मोटरसाइकल तथा स्कुटर आयात गरेको भन्सार विभागको तथ्याङकले देखाउँदछ । गत वर्षको आयातित सवारी साधनको तुलनामा चालु आव १३०.२१ प्रतिशतले बढी हो ।

चालु आवको पहिलो महिना साउनमा ३ अर्ब ९८ करोड रुपैयाँ बराबरको ३० हजार ८२१ वटा मोटरसाइकल तथा स्कुटर आयात गरेको व्यवसायीले भदौ महिनामा ३३ हजार ५९३ वटा मोटरसाइकल तथा स्कुटर आयात गरेको छ ।

आर्थिक वर्ष २०७६ सालमा भदौसम्ममा नेपालले ६ अर्ब बराबरको ७१ हजार ७७६ मोटरसाइकल तथा स्कुटर आयात गरेको भन्सार विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।


क्लिकमान्डु