विद्यूतीय भुक्तानीमा रेकर्ड, क्यूआरबाट साढे ४ अर्ब र वालेटबाट १४ अर्बको कारोबार



काठमाडौं । पछिल्लो समय विद्युतीय भुक्तानीमा आकर्षण बढेसँगै क्यूआर कोड स्क्यान तथा वालेटको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले नै विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहन गरिरहेका बेलामा उपभोक्ता पनि विद्युतीय भुक्तानी प्रणालीमा आकर्षित र अभ्यस्त भइरहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आवको पहिलो महिनासम्मको तथ्यांक अनुसार क्यूआर कोड स्क्यान गरी हुने कारोबारमा इतिहासिक रेकर्ड कायम भएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा मात्रै १२ लाख ९३ हजार ३४९ वटा कारोबारबाट ५ अर्ब ५६ करोड रुपैयाँको भुक्तानी भएको छ । यो एक महिनामा क्यूआर कोड स्क्यानमार्फत् भएको सबैभन्दा धेरै कारोबार रकम हो ।

यसअघि गत असारमा हालसम्मकै सबैभन्दा बढी ३ अर्ब ६५ करोड १० लाख रुपैयाँ, जेठ महिनामा १ अर्ब ९६ करोड ८० लाख, वैशाख महिनामा २ अर्ब ५२ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो ।

त्यसैगरी वालेटमार्फत् हुने कारोबार पनि उल्लेख्य वृद्धि भएको छ । तथ्यांक अनुसार चालु आवको साउन महिनामा मात्रै १ करोड ३१ लाख ५५ हजार ५०१ वटा कारोबारबाट १४ अर्ब रुपैयाँको कारोबार भएको छ । यो वालेटमार्फत् एकै महिनामा भएको हालसम्मकै उच्च कारोबार रकम हो ।

यसअघि गत असारमा १२ अर्ब ७९ करोड रुपैयाँ, जेठ महिनामा ८ अर्ब ३४ करोड ३० लाख रुपैयाँ र वैशाख महिनामा १० अर्ब १० करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।


क्लिकमान्डु