मोबाइल बैंकिङमार्फत् हुने भुक्तानीको सीमा बढ्यो, प्रिपेड कार्डको घट्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङमार्फत् हुने भुक्तानीको सीमा बढाएको छ । बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको छ ।

जसमा राष्ट्र बैंकले बैंक खाताबाट वालेटमा र वालेटबाट अन्य बैंक खातामा रकम पठाउँदाको अधिकतम सीमा बढाएको छ । यसअघि प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना ५ लाख रुपैयाँको सीमा रहेकोमा त्यसलाई बढाएर हाल प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँ बनाइएको छ ।

एक वालेटबाट अर्को वालेटमा रकम पठाउँदाको सीमा भने यथावत नै राखिएको छ । जसमा हाल प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रति महिना ५ लाख रुपैयाँसम्मको कारोबार गर्न पाइन्छ ।

साथै वालेटमा बढीमा ओभरनाइट २५ हजार रुपैयाँसम्म मौज्दात राख्न पाइनेमा त्यो संख्यालाई दोब्बर बनाउँदै ५० हजार रुपैयाँसम्म राख्न पाइने व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार सो सीमाभन्दा बढी रहेको रकम अनिवार्य रुपमा ग्राहकको सम्बन्धित बैंक खातामा जम्मा हुने व्यवस्था मिलाउनुपर्नेछ ।

साथै संस्थागत ग्राहक र एजेन्ट बाहेक प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्रै रकम जम्मा गर्न सकिनेछ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्था तथा कार्ड जारी गर्न अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरुले जारी गरेको एनएफसी कार्डमार्फत् प्रतिकारोबार अधिकतम ५ हजार रुपैयाँसम्मको विद्युतीय कारोबार गर्न सक्नेछन् ।

क्यूआर कोडबाट हुने भुक्तानीको सीमा बढ्यो
राष्ट्र बैंकले क्यूआर कोड स्क्यान गरी हुने भुक्तानीको सीमा दोब्बरले बढाएको छ । यसअघि मोबाइल बैंकिङको कारोबार प्रतिदिन अधिकतम १ लाख रुपैयाँ रहेकोमा अहिले सीमा बढाएर प्रतिदिन २ लाख रुपैयाँ बनाइएको छ । साथै इन्टरनेट बैंकिङमार्फत् हुने भुक्तानीको सीमा १० लाख रुपैयाँबाट बढाएर प्रतिदिन २० लाख रुपैयाँ बनाइएको छ ।

प्रिपेड कार्डमार्फत् गरिने भुक्तानी पनि घट्यो
नेपाल राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार प्रिपेड कार्डबाट रकम झिक्ने अधिकतम सीमा घटाइएको छ । यसअघि प्रिपेड कार्डबाट प्रतिकारोबार २५ हजार रुपैयाँ निकाल्न पाइन्थ्यो भने अहिले त्यो घटाएर प्रतिकारोबार १० हजार रुपैयाँ, प्रतिदिन २० हजार रुपैयाँ र प्रति महिनामा २ लाख रुपैयाँ मात्रै निकाल्न पाइने भएको छ ।

त्यसैगरी डेबिट कार्डको हकमा भने यसअघि प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना ४ लाख रुपैयाँसम्म निकाल्न मिल्ने सुविधालाई यथावथ राखिएको छ ।


क्लिकमान्डु