६३ वर्षदेखि एकछत्र राज गरिरहेको नटराज र अप्सरा पेन्सिलको कथा



बाल्यकालका केही यादहरु मेटाउन सकिँदैन । नटराज सिसाकलम पनि त्यही यादमध्येको एक हो । तपाईं हामी धेरैले सानो हुँदा नटराज सिसाकलम प्रयोग गर्यौ होला । अहिले पनि नटराज सिसाकलम देख्दा हामीलाई बाल्यकालको याद आउँछ । आउनुस् त्यही नटराज सिसाकलमका बारेमा केही कुराहरु बुझौँ ।

सन् १९३९ देखि सन् १९४० सम्म भारतमा लगभग साढे ६ लाख भारुको सिसाकलम बेलायत जर्मनी र जापान जस्ता देशबाट आयात भएको थियो । त्यतिबेला भारतमा सियोदेखि रेलसम्म सबैकुरा विदेशबाट आयात हुन्थे । त्यसैमध्येको एक थियो आयातित सिसाकलम ।

दोस्रो विश्वयुद्ध शुरु भएपछि अचानक सिसाकलमको आयात बन्द भयो । यही मौकामा भारतका केही व्यापारीहरुले सिसाकलम बनाउने निर्णय गरे । यसका लागि उनीहरुले कलकत्ता, बम्बई र मद्रासमा कारखाना खुले ।

दोस्रो विश्वयुद्ध सकिएपछि विदेशी आयात फेरि शुरु भयो । तिनीहरुका अगाडि भारतीय सिसाकलम टिक्न सकेनन् । व्यापार चौपट भएपछिसिसाकलम उत्पादकहरुले सरकारसँग हारगुहार गरे ।

स्वतन्त्र भएपछि भारत सरकारले सिसाकलम आयातमा केही प्रतिबन्ध लगायो । जसले गर्दा भारतीय उत्पादनको व्यापार फस्टायो । तर, विदेशी सिसाकलमको तुलनामा भारतीय सिसाकलम कमजोर र महंगो हुन्थ्यो । त्यसैले प्रयोगकर्ताहरु भारतीय सिसाकलमसँग सन्तुष्ट थिएनन् ।

त्यतिबेलै बीजे सांघवी, रामनाथ मेहरा र मनसूकनी नामका तीनजना साथीहरु मिलेर सन् १९५८ मा हिन्दुस्तान पेन्सिल्स नामको कम्पनी स्थापना गरे । सिसाकलमको व्यापार यिनीहरुले जर्मनीबाट सिकेका थिए । कम्पनीको पहिलो उत्पादन नै नटराज सिसाकलम थियो । विदेशबाट सिकेर आएको हुनाले उनीहरुले बलियो र किफायती सिसाकलम बनाए । बिस्तारै नटराज नामको सिसाकलम मान्छेहरुले मनपराउन थाले । त्यसपछि सांघवीले कारखानाको जिम्मा आफ्नो हातमा लिए ।

नटराज र अप्सरा सिसाकलम एउटै कम्पनीका दुई वटा ब्राण्ड हुन् । नटराजको शुरुवात सन् १९५८ मा भएको थियो भने अप्सरा सिसाकलमको शुरुवात सन् १९७० मा भएको थियो । शुरुमा यसलाई ड्रोइङ सिसाकलमका रुपमा बनाइएको थियो । तर पछि अप्सरा नामबाट पनि नटराजका नाममा बन्ने सबैकुराहरु बन्न थाले ।

त्यतिबेला नटराज र अप्सराको उत्पादनमा रेञ्ज राइटिङ पेन्सिल, इरेजर, शार्पनर, स्केल, आयल पेस्टल, म्याथम्याटिक्स इन्स्ट्रयुमेन्ट्स, वाटर कलर, वाल पोइन्ट र जेलपेनसम्म थिए ।

एउटै कम्पनी भएपनि नटराज र अप्सरा नामका लागि डुअल ब्राण्ड रणनीति अपनाएर नटराजलाई बलियो र किफायती सिसाकलमका रुपमा देखाउन थालियो । साथै अप्सरालाई फाइटर ब्राण्डका रुपमा बजारमा प्रस्तुत गरियो । विज्ञापनमा पनि सोही रणनीति अपनाइयो । नटराजको ट्यागलाइन थियो, ‘फेरि च्याम्पियन’ र अप्सराको ट्यागलाइन थियो, ‘फाइभ माक्र्स एक्स्ट्रा’ ।

यो रणनीतिले सबैखालका प्रयोगकर्ता समेटिए । यसले गर्दा अरु कम्पनीले बजार लिनसक्ने कुरै भएन । जसका कारण यी दुबै ब्राण्डमा सिसाकलम उत्पादन गर्ने हिन्दुस्तान पेन्सिल कम्पनी कैयन दशकदेखि लगातार भारतको नम्बर एक सिसाकलमका रुपमा बजारमा बलियो उपस्थिती जनाइरहेको छ ।

अहिले पनि नटराज पेन्सिलले ६० देखि ६५ प्रतिशत बजार हिस्सा ओट्न सफल भएको छ ।

भारतीय बजारमा मात्रै होइन नेपाली बजारमा पनि नटराज ब्राण्डका पेन्सिल कुनै समय निकै प्रख्यात थिए । नेपालका विद्यालयमा बलियो र गाढा रंगको यो सिसाकलमको कुनै समय एकछत्र राज थियो ।

प्रत्येक दिन ८५ लाख सिसाकलम उत्पादन
सामान्यतयाः एउटा रुखबाट करिब १ लाख ७० हजारवटा सिसाकलम उत्पादन गर्न सकिन्छ । हिन्दुस्तान पेन्सिल्सले हरेक दिन ८५ लाखवटा सिसाकलम बनाउँछ अर्थात् हरेक दिन ५० रुख काट्नुपर्ने हुन्छ । यसका लागि कम्पनीले आफै रुख खेती गर्दै आएको छ ।

भारतको पुलवामा जिल्लाको ओखू गाउँलाई पेन्सिल गाउँका नामले चिनिन्छ । करिब २५० घर भएको यो गाउँमा तीनवटा कारखानाहरु छन् जसले काठको स्लेट बनाउँछन् । सिसाकलम बनाउँदा यसको प्रयोग हुन्छ । हिन्दुस्तान पेन्सिल्सले यहीँबाट कच्चा पदार्थहरु लिन्छ ।

हिन्दुस्तान पेन्सिल्सको प्रतिस्पर्धीका रुपमा हाल बजारमा डोम्स र क्यामलिन सिसाकलम आएका छन् । चीन, ब्राजिल र जर्मनी संसारमै सबैभन्दा धेरै सिसाकलम बनाउने र निर्यात गर्ने देश हुन् ।

सिसाकलमको कारोबारमा त्यहाँका सरकारले धेरै नै लगानी गरेका छन् । हिन्दुस्तान पेन्सिल्सले सरकार र विदेशी लगानीकर्ताबिनै विदेशी सिसाकलमलाई भारतमा करिब बिस्थापित गरेको छ भने ५० वटा देशमा निर्यात पनि गरिरहेको छ ।
अहिले कम्पनीले हरेक दिन ८५ लाख सिसाकलम, १७ लाख सार्पनर, २७ लाख इरेजर र ३ लाख स्केल उत्पादन गर्दै आएको छ ।


क्लिकमान्डु