दशैंमा राष्ट्र बैंकले २ खर्बका नयाँ नोट ल्याउँदै, असोज ४ गतेदेखि साट्न पाइने



काठमाडौं । चाडपर्व लक्षित गरेर राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ । केन्द्रीय बैंकले दशैतिहार लक्षित गरी २ खर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गर्ने भएको हो ।

केन्द्रीय बैंकले असोज ४ गतेदेखि असोज २४ गतेसम्म वितरण गर्ने राष्ट्र बैंक नोट विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले क्लिकमाण्डूलाई जानकारी दिए ।

‘बैंकहरुलाई भने एक साता अघिदेखि नयाँ नोट दिन थालेका छौं, सर्वसाधारणका लागि भने असोज ४ गतेदेखि वितरण हुन्छ,’ नेपालले क्लिकमाण्डूसँग भने, ‘दशैको विदा शुरु नहुँदासम्म काठमाडौंलगायत ७ वटै प्रादेशिका कार्यालयबाट नयाँ नोट वितरण हुनेछ ।’

राष्ट्र बैंकले काठमाडौं उपत्यकाको हकमा केन्द्रीय कार्यालय बालुवाटारबाट वितरण गर्नेछ ।

साना र ठूला दरका नोट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँ वितरण गरिने उनले जानकारी दिए । संस्थागत प्रयोजनका लागि भने राष्ट्र बैंकले २ करोडदेखि ५ करोड रुपैयाँसम्म नयाँ तथा सुकिला नोट उपलब्ध गराउने छ ।

दशैंमा नयाँ नोट सटहीका लागि भनेर राष्ट्र बैंकले २ खर्ब रुपैयाँ बराबरका नयाँ नोट स्टकमा राखेको छ । जसमा सानादरका नयाँ नोट ५० अर्ब रुपैयाँ र ठूला दरका नोट १ खर्ब ५० अर्ब रुपैयाँ स्टकमा राखेकोे राष्ट्र बैंकले जानकारी दिएको छ ।

साना दरका नोटमा ५, १०, ५० र १०० दरका नोट हुन् भने ५०० र १००० दरका नोटलाई ठूला दरका नोटमा राष्ट्र बैंकले वर्गीकरण गरेको छ । यसबाहेक सुकिला नोटहरु समेत पर्याप्त स्टकमा रहेको हुँदा नोट सटहीका लागि कुनै पनि समस्या नहुने नेपालले बताए ।

बैंकहरुले आफू अनुकुल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी वा घटी नयाँ नोट वितरण गर्न सक्ने कार्यकारी निर्देशक नेपालले बताए ।

‘बैंकहरुको म्यानेजमेन्टका लागि मात्र नयाँ नोट दिएको होइन, आफू अनुकुल बैंकहरुले आफू अनुकुल वितरण गर्छन्,’ उनले थपे, ‘आवश्यकताअनुसार बैंकहरुले जहिलेसम्म पनि वितरण गर्न सक्छन् ।’

राष्ट्र बैंकले गत वर्ष कोभिड–१९ को संक्रमण जोखिमको कारण नयाँ नोट सटही गरेको थिएन । तर, यसपटक भने गत वर्षको नयाँ नोट नपाउँदा सर्वसाधारणको गुनासो आएको हुँदा स्वास्थ्य मापदण्ड पालना लगाइ नयाँ नोट वितरण गर्ने उनले बताए ।


क्लिकमान्डु