एसेम्बल उद्योगलाई प्रोत्साहन, स्थिरता भए १० ब्राण्डले नेपालमा उत्पादन गर्ने



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार ल्याएको बजेटको प्रतिस्थापन विधेयकले नेपालमा एसेम्बल नहुँने मोटरसाइकल र स्कुटरको मूल्य बढ्ने भएको छ ।

नेपालमा अहिले बजाजले मोटरसाइकल र टिभिएसले मोटरसाइकल र स्कुटर एसेम्बल गर्दै आएको छ । अर्थमन्त्री शर्माले एसेम्बल उद्योगलाई प्रोत्साहन हुने गरेर पार्टसमा लाग्ने अन्तशुल्कको छुट शतप्रतिशतले बढाएका छन् ।

नेपाल एसेम्बल भएका गाडी र मोटरसाइकलले २५ प्रतिशतसम्म अन्तःशुल्कमा छुट पाउदै आएकोमा त्यसलाई बढाएर ५० प्रतिशत पुर्याइएको छ । नेपालमा अहिले २ वटा ब्राण्ड बजाज र टिभिएस ब्राण्डले एसेम्बल गर्दै आएका छन् ।

यामाहले अर्कोवर्षदेखि एसेम्बल उद्योग लगाउने तयारी गरेको छ । अन्य ब्राण्डहरु होण्डा र हिरोले पनि एसेम्बल उद्योग लगाउने तयारी गरेका छन् ।


तत्कालको लागि पूर्ण रुपमा आयात हुने मोटरसाइकल र स्कुटरको मूल्य बढ्नेपनि अटोमोबाइल्स क्षेत्रको विकासको लागि अर्थमन्त्री शर्माले लिएको नीति ठिक भएको विश्लेषण अटोमोबाइल्स व्यवसायीको छ ।

नेपालमा निजी सवारी साधानको एसेम्बलको लागि पनि व्यवसायीहरुले तयारी सुरु गरिसकेका छन् । मारुती सुजुकीको नेपालको लागि बिक्रेता चौधरी ग्रुप र हुन्डाईको लागि नेपालको लागि बिक्रेता लक्ष्मी ग्रुपले नेपालमा नै गाडी एसेम्बल गर्ने तयारी थालि सकेका छन् ।

नाडा अटोमोबाइल्स एशोसियनका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोबाइल्स उद्योगको भावना सरकारले बुझेको बताउँछन् ।

‘अटोमोबाइल्स उद्योगको विकास एसेम्बल उद्योगबाट हुने हो,सरकारले नीगित स्थिरता राख्ने हो भने २ वर्षभित्रमा १० वटा ब्राण्ड नेपालमा एसेम्बल हुन्छ,’नाडा अध्यक्ष दुलालले भने ।

अटोमोबाइल्स उद्योगको विकासको लागि एसेम्बल उद्योग नै सुरुवाती चरणमा विकास गर्नुपर्ने क्षेत्र हो । नेपालमा एसेम्बल उद्योगको विकास भएमा पार्टस उद्योगहरु समेत खुल्ने सम्भावना हुन्छ । सरकारले दिएको छुटको स्थिरता भएमा आयात भएको भन्दा नेपालमा एसेम्बल भएको सवारी साधनको मूल्य समेत कमी हुने तथा रोजगारी सिर्जना समेत हुने अनुमान व्यवसायीको छ ।

बजाज मोटरसाइकल नेपालमा एसेम्बल हुन थालेपछि ५ सय जनाले रोजगारी पाएका छन् । एसेम्बल नगरेर सिधै ल्याएर बिक्री गर्दा सो रोजगारी सिर्जना हुने थिएन भने कम्पनीले करिब डेढ अर्बजति लगानी गरेको छ ।

यस्तै टिभिएसको मोटरसाइकल र स्कुटर नेपालमा एसेम्बल गर्नका लागि शंकर ग्रुपले पनि एक अर्बजति लगानी गरेको छ । जसमा ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
राज्यको सहयोगी नीति नभएको कारण गोल्छा समूहले उत्पादन गरेको मुस्ताङ म्याक्स गाडी उत्पादन सधैको लागि बन्द भएको थियो ।

एसेम्बल उद्योग लगाउनको लागि न्यूनतम मोटरसाइकल र स्कुटरको लागि १ अर्बजति लगानी गर्नुपर्ने हुन्छ । कम्तीमा ५ सयजनाले प्रत्यक्ष रोजगारी पाउँछन् ।

यद्यपी केही मोटरसाइकल बिक्रेताले भने सरकारले एकैपटक एसेम्बल उद्योगलाई छुट दिने र आयात हुने मोटरसाइकल र स्कुटरमा अन्तशुःक बढाउने नीतिको भने विरोध गरेका छन् ।

‘एसेम्बल उद्योगको लागि दिएको छुट ठिक भएपनि अरु ब्राण्डको बजार घटाउने खालको नीति देखिन्छ,सरकारले सबैलाई समान व्यवहार गर्नुपर्छ,’एक मोटरसाइकल कम्पनीका बिक्रेताले भने ।


क्लिकमान्डु