एक महिनामा विकास बैंकको व्यवसाय डेढ प्रतिशतले बढ्यो, नारायणी पहिलो



काठमाडौं । विकास बैंकहरुले १ महिनामै साढे १ प्रतिशतले व्यवसाय बढाएका छन् । साउन महिनामै विकास बैंकहरुले ७ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

डेभलपमेन्ट बैंकर्स एसोसियशनबाट प्राप्त तथ्यांकअनुसार असार मसान्तको तुलनामा चालु आवको पहिलो महिना साउनमा विकास बैंकहरु निक्षेप १.५४ प्रतिशत र कर्जा १.६१ प्रतिशतले बढेको छ ।

गत असार मसान्तमा विकास बैंकहरुले ४ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १६ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

जुन साउन मसान्तमा आइपुग्दा निक्षेप संकलन ४ खर्ब ८८ अर्ब ८३ करोड रुपैयाँ र कर्जा प्रवाह ४ खर्ब २२ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।
हाल १८ वटा विकास बैंकहरु सञ्चालनमा छन् । ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरु र १० वटा क्षेत्रीयस्तरका विकास बैंकहरु हुन् ।

संघद्वारा उपलब्ध तथ्यांकमा भने साल्पा, साहारा र कर्पोरेट डेभलपमेन्ट बैंकको व्यवसाय भने समावेश गरिएको छैन । यी विकास बैंकहरु डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा आवद्ध नभएका कारणले तथ्यांक समावेश नभएको संघले जानकारी दिएको छ ।

आसार मसान्तको तुलनामा साउन मसान्तसम्म १३ वटा विकास बैंकको विकास बैंकले निक्षेप बढाएका छन् भने ३ वटा विकास बैंकको निक्षेप घटेको छ ।

साथै, सो अवधिमा ३ वटा विकास बैंकको कर्जा संकलन घट्दा १२ वटा विकास बैंकको कर्जा गत असार मसान्तको तुलनामा साउन मसान्तमा बढेको छ ।

गत आसार मसान्तको तुलनामा साउन मसान्तसम्म निक्षेप ०.७० प्रतिशतदेखि २७.८१ प्रतिशतसम्म र कर्जा ०.४८ प्रतिशतदेखि ३३.६२ प्रतिशतसम्मले बढेको छ । तर, सो अवधिमा अवधिमा ३ वटा विकास बैंकको १.३७ प्रतिशतदेखि ३.८३ प्रतिशतसम्म निक्षेप संकलन र १.८१ प्रतिशतदेखि ४.५६ प्रतिशतसम्म कर्जा प्रवाह घटेको छ ।

गत असार मसान्तको तुलनामा साउन महिनामा सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकले र सबैभन्दा थोरै लुम्बिनी विकास बैंकले निक्षेप संकलन र कर्जा वृद्धि गरेका छन् ।

तर, सो अवधिमा गरिमा विकास बैंक, सिन्धु विकास बैंक र ज्योति विकास बैंकको निक्षेप संकलन घटेको छ । भने, मितेरी, ज्योति, र सिन्धु विकास बैंकको कर्जा प्रवाह घटेको छ ।

एक महिनामा कुन विकास बैकको व्यवसाय ?
गत आसार मसान्तको तुलनामा साउन मसान्तमा राष्ट्रियस्तरका ८ वटा विकास बैंकले १.२३ प्रतिशतले निक्षेप संकलन र १.६३ प्रतिशतले कर्जा प्रवाह वृद्धि गरका छन् । साथै, विकास बैंकहरुमा ७ वटा क्षेत्रीयस्तरका विकास बैंकहरुले ५.०२ प्रतिशत निक्षेप र ०.४८ प्रतिशत कर्जा प्रवाह गत असार मसान्तको तुलनामा साउनमा वृद्धि गरेका छन् ।


क्लिकमान्डु