छुटको व्यवस्थाले जग्गामा महिलाको स्वामित्व बढ्दै, गत वर्ष मात्रै करिब ५ अर्ब छुट
काठमाडौं । सरकारले महिलाको नाममा जग्गा पास गर्दा कर छुट दिने व्यवस्था गर्दा जग्गामा महिलाको स्वामित्व बढ्दै गएको छ । देशभरका मालपोत कार्यालयबाट संकलन गरेको तथ्याङ्क अनुसार कर छुट व्यवस्थाले महिलाको स्वामित्व बढ्दै गएको हो ।
नेपालको पहिलो लिखित कानून वि.सं. १९१० को मुलुकी ऐनले सर्तसहित सम्पत्तिमा महिला अधिकार कायम गरेको थियो । प्रजातन्त्रको पुनःस्थापनापछि मुलुकी ऐनको १२औँ संशोधन(२०५९)मा छोरीलाई पैतृक सम्पत्तिमा समान अधिकार प्रदान गर्यो । सोहीअनुसार नेपालमा जग्गाको स्वामित्व बढ्दै गएको देखिन्छ ।
नेपालको संविधान र त्यसपछि बनेका कानूनले अंश र वंशमा महिलाको हक स्थापित गरेका छन् । राष्ट्रिय जनगणना २०५८ अनुसार नेपालमा करिब १२ प्रतिशत परिवारका महिलाका नाममा घर वा जग्गाको स्वामित्व थियो ।
यो संख्या २०६८ को जनगणनामा १९.७१ प्रतिशत पुगेकोे थियो । जसअनुसार सहरी क्षेत्रका २६.७७ र ग्रामीण क्षेत्रमा १८.०२ प्रतिशत महिलाको नाममा घर, जग्गा वा दुबैको स्वामित्व थियो । तर आर्थिक वर्ष २०७८/७९ मा सो संख्या बढेर ३४.२७ प्रतिशत पुगेको छ ।
देशभर हालसम्ममा १ करोड ३८ लाख ३४ हजार ७ सय ९१ जग्गाधनी छन् । त्यसमा ४७ लाख ४२ हजार १६४ महिला जग्गाधनी छन् । कुल हिस्साको जुन ३४.२७ प्रतिशत हो ।
त्यस्तै देशभर पुरुष जग्गाधनीको संख्या ७२ लाख ७५ हजार ७ सय २८ रहेका छन् । जुन ५२.५९ प्रतिशत हिस्सा पुरुषको रहेको छ ।
यसैगरी देशभर विभिन्न संघसंस्थाको नाममा १८ लाख १० हजार ३७८ जग्गा रहेको तथ्याङ्कले देखाउँदछ । साथै ३ सय ८४ जना जग्गाधनी पहिचानसहितको तेस्रोलिङगी रहेको छ ।
महिलाका नाममा घरजग्गा रजिष्ट्रेशन पास गर्दा २५ देखि ३५ प्रतिशतसम्म छुट दिने व्यवस्था छ । महिलाका नाममा समेत घरजग्गाको स्वामित्व बढाउने उद्देश्यले सरकारले महिलाको नाममा स्वामित्व दर्ता गर्दा लाग्ने राजस्वमा ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ । यसले गर्दा अधिकांश जग्गा महिलाको स्वामित्वमा रहेको विभागका प्रवक्ता गुरुदत्त सुवेदी बताउँछन् ।
उनका अनुसार सरकारले महिलाको स्वामित्वमा जग्गा पास गर्ने र ४० वर्ष पूरा भई बसेका एकल महिलाको छुट्टै व्यवस्था गरेको छ । यसले गर्दा महिलाको सम्पत्तिको स्वामित्व बढेको हो ।
ग्रामीण क्षेत्रका महिलालाई ३० र सहरी क्षेत्रका महिलालाई २५ प्रतिशत दस्तुर छुट दिने गरिएको छ । एकल महिलाले भने थप १० प्रतिशत छुट पाउँछन् ।
विभागको अनुसार हालसम्ममा देशभर २ करोड ९२ लाख २८ हजार २ सय २८ कित्ता रहेको छ ।
एक वर्षमा करिब ५ अर्ब छुट
महिलाको स्वामित्वमा जग्गा पास गरेको अवस्थामा करमा छुट दिने व्यवस्थाले गर्दा महिलाहरूको नाममा जग्गा पास हुने प्रचलन बढ्दै गएको देखिन्छ । सर्वसाधारणहरूले पनि महिलाको हकमा छुट दिने भएपछि अधिकांश जग्गा पास गर्दा महिलालाई नै समावेश गराउने मालपोत कार्यालयहरू जनाएको छ ।
त्यस्तै, सरकारले छुटको व्यवस्था गरे अनुसार महिलाले वार्षिक औसतमा ५ अर्ब बढी रकम छुट भइरहेको छ । आर्थिक वर्ष २०७७/७८ मा पनि सरकारले ४ अर्ब ७० करोड २६ लाख ९४ हजार रुपैयाँ महिलाको स्वामित्वमा पास गर्ने जग्गाधनीलाई छुट दिएको छ । यसले गर्दा महिलाको स्वामित्वमा जग्गा पास भएकाले केही करमा छुट भई आर्थिक खर्च कम हुने विभागको बुझाइ छ ।