बढ्दो सेयर बजारलाई राष्ट्र बैंकको पहेँलो कार्ड



काठमाडौं । सरकार परिवर्तनको कारण मौद्रिक नीति जारी गर्न ढिला गरेको राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई प्रोभिजनमा कडाइ गरेको छ ।

राष्ट्र बैंकको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाले १२ अर्ब रुपैयाँ प्रोभिजन थप गर्नुपर्छ । जसको असर बैंक तथा वित्तीय संस्थाले बाड्ने लाभांशमा पर्छ ।

राष्ट्र बैंकको एकीकृत निर्देशिकाले चालु आर्थिक वर्षका लागि ल्याउने भनेको मौद्रिक नीतिको नयाँपन भने करिब सकिएको छ ।

राष्ट्र बैंकले नीतिगत व्यवस्था परिवर्तन गरेको दिन सोमबार स्टक एक्सचेन्जमा बैंकिङ समूह ४३.५ अंकले घटेको छ भने विकास बैंक समूह ३४.३८ प्रतिशतले विकास बैंक समूह घटेको छ ।

बैंक तथा वित्तीय संस्थाले दिने लाभांश घट्दा स्वभाविक रुपमा सेयर बजारमा असर पर्छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा पूँजी बजार फोरमका संयोजक अम्बिकाप्रसाद पौडेल केही दिन सेयर बजार घटे पनि केन्द्रीय बैंकको नीति दीर्घकालिन हिसाबले ठीक भएको बताउँछन् ।

‘राष्ट्र बैंकले रिजर्भलाई बलियो बनाउन खोजेको छ, नगद लाभांशमा गरेको कडाइले बैंक तथा वित्तीय संस्थाले साधारण सेयरधनीले खोज्ने बोनस सेयर नै दिने हो,’ पौडेलले क्लिकमाण्डूसँग भने ।

राष्ट्र बैंकको व्यवस्थाले लघुवित्तमा बढी लाभांश आश गरेका लगानीकर्तालाई पनि निराश भने बनाएको छ । राष्ट्र बैंकको व्यवस्थाले २५ प्रतिशतभन्दा बढी लाभांश दिन लघुवित्तलाई कठिन हुन्छ ।

राष्ट्र बैंकको व्यवस्थाले तत्काललाई भने नेगेटिभ असर सेयर बजारमा पार्ने देखिन्छ । सेयर बजारमा वाणिज्य बैंक समूहको तुलनामा विकास बैंक,वित्त कम्पनी तथा लघुवित्तको सेयर बढी बढेको थियो ।

यसअघि पनि राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गरिसकेको थियो । लाभांश वितरणमा कडाइ गरेर केन्द्रीय बैंकले वित्तीय स्थायित्वमा जोड दिएको देखिन्छ । चालु वर्षमा कम लाभांश आए पनि यसले बैंक तथा वित्तीय संस्थाको रिजर्भलाई भने बढाउने छ ।


क्लिकमान्डु