एक वर्षमै झण्डै ५०% बढीले घट्यो विद्युत् प्राधिकरणको नाफा
काठमाडौं । कुनै समय घाटाको मात्रै व्यापार गर्ने, नेपाल विद्युत् प्राधिकरणले पछिल्ला केही वर्ष नाफाको पनि व्यापार गर्यो । कुलमान घिसिङको सबल नेतृत्व, सबै कर्मचारीको मेहनतको परिणाम स्वरुप प्राधिकरणले सरकारी संस्थानहरुको तुलनामा राम्रै गरेको विवरण सार्वजनिक भएको थियो ।
तर, अघिल्लो वर्षमा प्राधिकरणले सोचेजति नाफा गर्न नसक्ने अवस्थामा पुगेको छ । डेडिकेटेड र ट्रंकलाइनको झण्डै १५ अर्ब महसुल उठन सकेको छैन । यस्तै, सरकारले निषेधाज्ञाको समयमा छुट दिन भनेको झण्डै ३ अर्ब बराबरको रकम समेत शोधभर्ना पाएको छैन ।
कोरोनाका कारण कर्मचारी परिचालित हुन नसक्दा चुहावट बढेर झण्डै १७ प्रतिशतको हाराहारीमा पुगेको छ । १ प्रतिशत चुहावट बढ्दा झण्डै १ अर्ब बराबरको घाटा हुने जानकारहरुको भनाइ छ । आर्थिक वर्ष २०७२/७३ मा सबैभन्दा बढी २६ प्रतिशत चुहावट रहेको थियो ।
त्यस लगत्तै कार्यकारी निर्देशक बनेर आएका कुलमानले सबै संयन्त्र परिचालन गर्दा आव २०७३/७४ मा २२.९० प्रतिशतमा चुहावट सीमित भयो । आव २०७४/७५ मा २०.४५, आव १५.३२ प्रतिशतमा सीमित भयो । आव २०७७/७८ मा १५ प्रतिशतमा सीमित गर्ने भनिएका झण्डै १७ प्रतिशत चुहावट पुगेको छ ।
एकातिर चुहावट बढ्नु अर्कोतर्फ उद्योग व्यवसायले मागे जति बिजुली दिन नसक्दा प्राधिरकणको आम्दानी क्रमशः ओरालो लागेको छ ।
प्राधिकरणका आयोजना मर्मतको नाममा लामो समय बन्द गरिएका छन् । कालीगण्डकीको मर्मतमा पनि त्यस्तै भयो । पछिल्लो पटक झण्डै २ महिनादेखि मर्मतका नाममा माथिल्लो त्रिशुली थ्री ए बन्द अवस्थामा रहेको छ ।
सो आयोजना बन्द गर्दा मध्यवर्षामा समेत भारतबाट बिजुली आयात गर्नुपरेको छ । भारतबाट आयात हुने बिजुलीको मात्रामा वृद्धि हुनु, सुक्खायामममा प्राधिकरण र अन्य निजी क्षेत्रका आयोजनाको बिजुली उत्पादन समेत घटन जाँदा प्राधिकरणको घाटा बढेको हो ।
आव २०७७/७८ मा नाफा मात्रै ५ अर्बको हाराहारीमा भएको छ । आव २०७६/७६ मा नाफा ११ अर्ब बराबर पुगेको थियो । गत आवमा समेत नाफामा सुधार भएको भए प्राधिकरणको सञ्चित घाटा समेत परिपूर्ति हुने अवस्था थियो ।
प्राधिकरणको आन्तरिक व्यवस्थापनमा हालको व्यवस्थापन प्रभावकारी हुन नसकेको भन्दै ऊर्जामन्त्री पम्फा भुसालले रोष प्रकट गरेकी छिन् । चुहावट नियन्त्रण गर्न नसकेको तथा, बाँकी बक्यौता उठाउन प्रभावकारी पहल नगरेको आम रुपमा चिन्ता व्यक्त भइरहेको बेला विभागीय मन्त्रीले नै रोष प्रकट गर्नुले पनि समस्या कही न कही रहेको स्पष्ट हुन जान्छ ।
अघिल्लो वर्षपनि प्राधिकरणको नाफा कागजमा मात्रै भएको चर्चा गरिएको थियो । यस वर्ष कागजी नाफा समेत नहुने अवस्था आएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार कोरोना कहर, भारतबाट आयात हुने बिजुलीको मात्रामा भएको वृद्धि लगायतका कारणले नाफा घटेको बताए ।
उनले नाफा देखिएपनि क्यासफ्लोको समस्या हुने बताउँदै सरकारले दिने भनेको शोधभर्ना वापतको रकम पाए सहज हुने उल्लेख गरे ।
उत्पादन वृद्धि क्रमशः भइरहेको बेला प्रसारण लाइन बिस्तार हुन सकेको छैन । प्राधिकरण आफैले जिम्मा लिएका प्रसारण लाइनको काम समेत प्रभावकारी हुन सकेको छैन । कोशी करिडोर, सोलु करिडोर, दोर्दी करिडोर, मस्र्याङदी काठमाडौं करिडोरको काम अगाडि बढ्न सकेको छैन ।
कतै जग्गा प्राप्ति, कतै वनको समस्या तथा कतै स्थानीयबासीको अवरोधका कारण आयोजनाले गति लिन सकेको छैन । यतिबेला प्राधिकरणको आफ्नै कुनै पनि आयोजना छैन । सहायक कम्पनीमार्फत् अगाडि बढाइएका आयोजनाले मात्रै प्राधिकरणको साख धानेको छ ।
प्राधिकरणले माथिल्लो अरुण, तामाकोशी पाँचौ, चैनपुर सेती, बुढीगण्डकी, दुधकोशी आयोजना अगाडि बढाउने तयारी गरिएको जनाएको छ । ती आयोजना कुन मोडलमा कसरी बनाउने भन्ने बारेमा आवश्यक निर्णय हुन बाँकी रहेको छ ।