मोबाइल फोनको आयात ६० प्रतिशतले बढ्यो, कुन देशबाट कति आयात ?



काठमाडौं । पछिल्लो समय मोबाइल फोनको अत्यधिक आयात भएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनाको अवधिमा ६०.९३ प्रतिशतले मोबाइल फोन सेटको आयात बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

कोरोना भाइरस महामारीका कारण लामो समय बन्दाबन्दी र अत्यावश्यक व्यवसायबाहेक अन्य व्यवसाय खोल्न बन्देज लगाएसँगै मोबाइल सेटको आयात बढी भएको व्यवसायीहरू बताउँछन् ।

साथै, पछिल्लो समय कोरोनाले गर्दा विभिन्न इन्स्टिच्यिूट, स्कुल तथा कलेज बन्द भएको अवधिमा अनलाइन कक्षा हुने भएकाले पनि मोबाइलको माग बढेको र सोही अनुसार आयात भइरहेको मोबाइल व्यवसायीहरू बताउँछन् ।

चालु आवको ११ महिनाको अवधिमा नेपालले ३४ अर्ब १४ करोड ८४ लाख रुपैयाँ बराबरको ६५ लाख ५४ हजार ३ सय २३ सेट मोबाइल फोन आयात गरेको छ । साथै, गत वर्षको सोही अवधिमा नेपालले २६ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ बराबरको ४० लाख ७२ हजार ६ सय ९९ सेट मोबाइल फोन आयात गरेको थियो । गत वर्षको तुलना चालु आवमा नेपालले ६० प्रतिशतले बढी मोबाइल फोन सेट आयात गरेको हो ।

त्यसैगरी उक्त आयातित मोबाइल फोनबाट नेपाल सरकारले ५ अर्ब ४० करोड ४७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले २ अर्ब ४९ करोड ४१ लाख राजश्व संकलन गरेको थियो ।

यस्तै, जेठ महिनामा मात्र नेपालले करिब २ लाख बढी मोबाइल फोन आयात गरेको छ । नेपालले एक महिनाको अवधिमा २ अर्ब ५ करोड ५५ लाख रुपैयाँ बराबरको १ लाख ९९ हजार बढी मोबाइल फोन आयात भएको छ । साथै चालु आवको जेठ महिनामा आयात भएको आयातित मोबाइल फोनबाट ३२ करोड ५३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

कुन देशबाट कति आयात ?
भन्सार विभागको तथ्याङ्क अनुसार ११ महिनाको अवधिमा सबैभन्दा बढी चीनबाट मोबाइल फोन आयात भएको छ ।

चीनबाट मात्रै नेपालले २० अर्ब ७६ करोड ९४ लाख रुपैयाँ बराबरको ५३ लाख ५९ हजार ३ सय २९ सेट मोबाइल फोन आयात गरेको छ । सो आयातित मोबाइल फोनबाट नेपालले ३ अर्ब २८ करोड ७१ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

त्यस्तै चीनपश्चात नेपालले भारतबाट ११ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ बराबरको ९ लाख २ हजार ७ सय ५७ सेट मोबाइल फोन आयात गरेको छ । साथै, १ अर्ब ८७ करोड ३२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

त्यसैगरी, भियतनामबाट१ १ अर्ब २४ करोड २ लाख रुपैयाँको २ लाख ८५ हजार ७ सय ९७ सेट, अष्ट्रेलियबाट १ करोड ९७ लाख रुपैयाँको १ हजार ६४ सेट, अमेरिकाबाट ६ करोड १४ लाख रुपैयाँको १ हजार २७ सेट, युएईबाट ७ करोड ५४ लाखको १ हजार सेट, मलेसियाबाट ५छ लाख रुपैयाँको ८ सय १३ सेट, दक्षिण कोरियाबाट ५ करोड ९१ लाख रुपैयाँको ६ सय ९१ सेट, जापानबाट २ करोड २६ लाख रुपैयाँको ४ सय ३७ सेट आयात भएको भन्सार विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।


क्लिकमान्डु