नेपाल टेलिकमको जीएसएम मोबाइलमा देखिएको समस्या समाधान



काठमाडौं । नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा आज (बुधबार) बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएको र जानकारी प्राप्त हुनासाथ समस्या समाधानका लागि कम्पनीले तत्काल श्रोत साधन परिचालन गरी बिहान ८ः१५ बजे सिस्टमलाई शुरू गर्न सफल भएको छ ।

सेवा अवरुद्ध हुनुको प्राविधिक कारण पत्ता लगाउने कार्यको समानान्तर रुपमा सो समस्या निराकरण गर्ने कार्यलाई प्राथमिकतामा राखी समस्याको विश्लेषण गर्दै काम अगाडि बढाइएकाले करीब २ घण्टामै सेवा शुरू गर्न सकिएको हो ।

सो अवधिमा जीएसएम मोबाइलको २जी, ३जी र ४जी प्रविधिको डाटा सेवामा समस्या नदेखिएको, कम्पनीले हालै सञ्चालनमा ल्याएको भोओएलटीई (भ्वाइस ओभर एलटीई) मा समस्या नआएको र जीएसएम मोबाइलका केही फिचर फोन (साना नन् स्मार्ट फोन) मा समस्या नदेखिएको जानकारी प्राप्त भएको छ । मुख्यतः स्मार्ट फोन सेटहरुमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।

कम्पनीका सेवाहरु अवरुद्ध हुन नदिन प्रिभेन्टिभ मेन्टिनेन्सका कार्यहरु गर्ने गरिएको भएतापनि समस्या आइहालेमा न्यूनतम समयमा सेवा सुचारु गर्न कम्पनी सधैं तत्पर रहिरहने विश्वास दिलाउन चहाने विज्ञप्तिमा उल्लेख छ । कुनैपनि उपकरण र प्रविधिमा यदाकदा समस्या आउन सक्ने वास्तविकता नकार्न नसकिने भए तापनि यस अप्रत्याशित समस्याका कारण कम्पनीको सेवामा आएको अवरोधबाट ग्राहकवर्गलाई पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा पनि मागेको छ


क्लिकमान्डु