इन्जिनियर भन्छन्- सडक निर्माणमा बिटुमिनको साटो सिमेन्टको प्रयोग गर्दा गुणस्तर राम्रो हुन्छ



काठमाडौं । सिमेन्ट प्रयोग गरी कंक्रिट सडक निर्माण गर्दा गुणस्तरमा ध्यान दिनुपर्ने इञ्जिनियरहरुले बताएका छन् ।

बिटुमिनको तुलनामा सिमेट प्रयोग गरी बन्ने सडकको आयु लामो हुने भएकाले गुणस्तरलाई उच्च प्राथमिकतामा राखेर निर्माण अघि बढाउनुपर्ने भौतिक पूर्वाधार मन्त्रालयका पूर्वसहचिव राजेन्द्र शर्माले बताए ।

बिटुमिनबाट बन्ने सडकको तुलनामा कंक्रिट सडकको सुरुवाती लागत महँगो भए पनि दीर्घकालीन फाइदा हुने उनको भनाइ छ ।

हालको बजार मूल्यअनुसार कंक्रिटको सडक बनाउन अलकत्राको तुलनामा दोहोरो खर्च लाग्छ । दीर्घकालीन रुपमा खर्चको हिसाब गर्ने हो भने अलकत्राको सडकको तुलनामा कंक्रिट सडकको लागत सस्तो हुन्छ ।

उनका अनुसार अल्कत्रा सिमेन्टको आयु १० देखि २० वर्ष र कंक्रिट सडकको आयु ३० देखि ४० वर्ष हुन्छ ।

‘अल्कत्राको सडकलाई समय अनुरुप मर्मत गर्नुपर्छ । अलकत्रे सडकलाई प्रत्येक ५ वर्षमा ओभरले गर्नुपर्छ,’ सोसाइटी अफ कन्सल्टिङ आर्चिटेक्चलर एण्ड इन्जिनियरिङ फर्मस्को भर्चुअल कार्याक्रममा शर्माले भने, ‘कंक्रिट सडक लामो समयसम्म मर्मत सम्भार नगरे हुन्छ ।’

कंक्रिटको सडकलाई दीगो बनाउन निर्माणका लागि आवश्यक बालुवा, गिट्टी र सिमेन्ट सही मात्रमा प्रयोग गरी गुणस्तरीय काम गर्नुपर्नेमा उनको जोड छ ।

बिटुमिन सडक बिग्रेमा त्यसमा केही सामग्री थप गरी पहिलाकै जस्तै बनाउन सकिन्छ । तर कंक्रिटको सडक कामै नलाग्ने गरी बिग्रन्छ ।

व्यापार घाटा घट्ने

नेपालमा करिब १ लाख किलोमिटर सडक सञ्जाल विस्तार भएको छ । यसमा राष्ट्रिय राजमार्ग १५ हजार किलोमिटर, स्थानीय र प्रदेश सडक ८५ हजार किलोमिटर सडक छन् ।

यीमध्ये २५ हजार किलोमिटर सडकमा मात्रै १२ यान सवारी सञ्चालनयोग्य छन् । जसमा १३ प्रतिशत सडक कालोपत्रे भएको शर्माले जानकारी दिए ।

सन् २०३० सम्म २ लाख किलोमिटर सडक निर्माण गर्ने सरकारी लक्ष्य छ । यसलाई हासिल गर्न तथा भएका सडकलाई स्तरिय बनाउन पनि धेरै काम गर्नु बाँकी रहेको उनले बताए ।

यस्तोमा नेपालका सडक सिमेन्ट प्रयोग गरी निर्माण गर्न सकिने सम्भावना बारे उनले औल्याए । सिमेन्टबाट निर्मित सडक बलियो हुनुका साथै यसले ब्यापार घाटा घट्ने पनि उनको तर्क छ ।

अलकत्राका लागि आवश्यक कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्छ । त्यस्ता सामाग्री नेपालमा उत्पादन हुँदैन । तर सिमेन्ट नेपालकै चुन ढुंगाबाट उत्पादन हुन्छन् ।


क्लिकमान्डु