घाटामा डुबेको वायुसेवा निगमका महाप्रबन्धकको तलब १२८ प्रतिशतले बढ्यो



काठमाडौं । वार्षिक अर्बौं रुपैयाँ बराबरको घाटा बेहोरिरहेको सरकारी सार्वजनिक संस्थान नेपाल वायुसेवा निगमका महाप्रबन्धकको तलब सुविधा १२८ प्रतिशतले बढेको छ ।

मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले निगममा महाप्रबन्धक डिमप्रकाश पौडेलको तलब मासिक १ लाख २५ हजार रुपैयाँबाट बढाएर २ लाख ८५ हजार रुपैयाँ पुर्याउने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालय उच्च स्रोतकाअनुसार मन्त्रिपरिषदको निर्णयपछि मन्त्रालयले गत बुधबार निगमलाई पत्र पठाउँदै पौडेलको तलब बढेको जानकारी दिइसकेको छ ।

‘निगमका महाप्रबन्धको तलब बढाउने भनेर मन्त्रालयले प्रस्ताव तयार पारेको लामै समय भयो । तर निवर्तनमा पर्यटनमन्त्री भानुभक्त ढकालले गत सोमबार मन्त्रिपरिषदमा प्रस्ताव लगेर स्वीकृत गरेर ल्याएका हुन्,’ मन्त्रालय उच्च स्रोतले क्लिकमाण्डुसँग भन्यो ।

औपचारिकताका लागि मन्त्रिपरिषदको निर्णयलाई निगमको संचालक समितिमा लगेर पारित गर्नुपर्नेछ ।

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटमार्फत् सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले बढाएको थियो । कर्मचारीको तलब बढेपछि निगमको सञ्चालन खर्च बढ्ने र त्यसले घाटा थप्दै जाने देखिन्छ ।

निगमको घाटा बढेकै कारण संचालक समितिमा बारम्बार कर्मचारीको सेवा सुविधा कटौतीको विषय उठ्ने गरेको थियो ।
महाप्रबन्धक पौडेलले भने आफुले ८ महिनादेखि तलब नलिएको बताए ।

‘मैले पछिल्लो ८ महिनादेखि निगमबाट तलब लिएको छैन । त्यसकारण तलब सुविधा बढेको भए मलाई जानकारी छैन । मन्त्रिपरिषदको निर्णय पनि मकहाँ आइपुगेको छैन,’ पौडेलले भने ।


क्लिकमान्डु