सिजीको इन्टरनेट सेवा शुरू, १२० एमबीपीएस ९९९ रुपैयाँमै पाइने, यस्तो छ प्याकेज



काठमाडौं । चौधरी ग्रुपले आजदेखि इन्टरनेट सेवा शुरु गरेको छ । सिजी नेटले मंगलबारदेखि उच्च गतिको इन्टरनेट सेवा शुरु गरेको निर्वाण चौधरीले बताए ।

‘उच्च गतिको इन्टरनेट सस्तो शुल्कमा आजदेखि सिजीले इन्टरनेट सुविधा ल्याएको छ, हाल काठमाडौंमा मात्रै भएको यो सुविधा बिस्तारै देशका अन्य भागमा पनि उपलब्ध हुनेछ,’ चौधरीले भने ।

उनले डिजिटल नेपाल बनाउने अभियानमा चौधरी ग्रुपको प्रतिबद्धता रहेको उनको भनाइ छ । उनले १२० एमबीपीएसको स्पिड इन्टरनेट मासिक ९९९ रुपैयाँमा मात्रै उपलब्ध गराउने बताए ।

‘शुरुवातमा हाम्रो सेवा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुनेछ । तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले सेवाको फाइदा उठाउन सक्नेछन् । १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ बिस्तार हुनेछ । उल्लिखित क्षेत्रका उपभोक्ताका घरमा हाम्रो सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुनेछ,’ सिजीले भनेको छ ।

ग्राहक सेवाकेन्द्रहरू हालका लागि सीजी डिजिटलका शाखा- जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुनेछन् । नेटवर्क विस्तारसँगै काठमाडौं उपत्यकाका अन्य क्षेत्रहरूमा पनि ग्राहक सेवा केन्द्रहरू थप गर्दै लगिने कम्पनीको भनाइ छ ।

‘सीजी नेट’ देशव्यापी इन्टरनेट सेवाप्रदायक (आईएसपी) हो, जसले व्यावसायिक र व्यक्तिगत दुबैका लागि इन्टरनेट सेवा उपलब्ध गराउनेछ । निकट भविष्यमै आईपीटीभी र अन्य लोकप्रिय सेवा पनि बजारमा ल्याउने कम्पनीको भनाइ छ ।
भिडियो, ओटीटी प्लेटफर्म, ‘वर्क फ्रम होम’, अनलाइन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न ‘सीजी नेट’ले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेको छ ।

यस्तो छ प्याकेज
१२० एमबीपीएस गति भएको इन्टरनेट १ महिनाका लागि ९९९ रुपैयाँ तोकिएको छ भने २ महिनाका ालगि २ हजार ९९७ रुपैयाँ, ६ महिनाका लागि ५ हजार ९९४ रुपैयाँ र १२ महिनाका लागि११ हजार ९८८ रुपैयाँ तोकिएको छ ।

यसका लागि इन्स्टलेसन शुल्न, ड्रप वायर शुल्क भने निःशुल्क गरिएको छ ।

त्यसका साथै सिंगल राउटरका लागि एक महिनाको प्याकेज लिँदा २५००, ३ महिनाको प्याकेज लिँदा २ हजार, ६ महिना प्याकेज लिँदा १५०० रुपैयाँ र १ वर्षको प्याकेज लिँदा निःशुल्क गरिएको छ ।

त्यसैगरी डबल राउटर राख्नेले एक महिनाको प्याकेज लिँदा ३५०० रुपैयाँ, ३ महिनाको प्याकेज दिँदा ३ हजार रुपैयाँ, ६ महिनाका प्याकेज लिँदा २५०० रुपैयाँ र १ वर्षको प्याकेज लिँदा निःशुल्क गरिएको छ । साथै रिफन्डेबल डिपोजिटका रुपमा ५ सय रुपैयाँ बुझाउनुपर्ने छ ।


क्लिकमान्डु