सातामा २ वटा उडान हुने गरी थप तीन देशका लागि उडान खोल्ने सरकारको निर्णय



काठमाडौं । सरकारले थप तीन वटा देशमा हवाई उडान शुरु गर्ने निर्णय गरेको छ । हाल एयर बबर सम्झौताअनुसार भारतसँग मात्रै सातामा २ वटा उडान हुने व्यवस्था भएकोमा अब टर्की, दोहा र चीनमा पनि उडान शुरु हुनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले केही दिन अघि बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।

‘यी तीन वटा देशमा अन्तर्राष्ट्रिय उडान आवश्यक छ भन्ने समितिको सुझावपछि मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो,’ उनले क्लिकमाण्डूसँग भने ।

यी तीन वटै देशमा सातामा बढीमा २ वटा उडानहरु हुनेछन् ।

हाल एयर बबल सम्झौता अनुसार नेपाल एयरलाइन्सले भारतमा २ वटा उडान गरिरहेको छ भने भारतीय राष्ट्रिय ध्वजावाहक विमानले पनि सातामा नेपालमा २ वटा उडान गर्न पाउने व्यवस्था छ ।

सरकारको उक्त निर्णयसँगै चार्टर्ड उडानमा महंगो भाडा तिरेर तीन गन्तव्यमा जानुपर्ने यात्रुको बाध्यता कम हुनेछ । अहिले चार्टर्ड उडानका नाममा यात्रुलाई महंगोमा टिकट बिक्री गरिरहेको भन्दै व्यवसायीहरुले नियमित उडानको माग गर्दै आएका छन् ।


क्लिकमान्डु