बृहत पर्यटन पुनरुत्थान योजना लागू गर्न हानको माग, भन्यो- कर्मचारीलाई पर्यटन विदाको व्यवस्था गरौं
काठमाडौं । होटल एसोसिएसन नेपाल (हान)ले होटल क्षेत्रको रिभाइभका लागि ‘बृहत पर्यटन पुनरुत्थान योजना’ लागू गर्न सरकार समक्ष माग गरेको छ ।
हानले बिहीबार विज्ञप्ति जारी गर्दै कोभिड विशेषः पर्यटन पुनरुत्थान कोष र पर्यटन सहजीकरण कोष सहितको आर्थिक योजना लागू गर्न विशेष माग गरेको छ ।
‘विगत १५ महिना भन्दा वढीको व्यवसायिक शून्यताले गर्दा कतिपय व्यवसायीहरु पलायन समेत भइसकेको हुँदा होटल तथा पर्यटन जस्तो बहुगुणी व्यवसाय प्रति आर्कषण घटने मात्र नभई दीर्घकालीन रुपमा लगानी पलायन भइ देश विकासको महत्वपूर्ण हिस्सा पर्यटन उद्योग नै धराशायी हुन सक्ने देखिन्छ,’ हानले भनेको छ ।
हानले होटल क्षेत्र कोरोनाका कारण अति प्रभावित क्षेत्रमा पर्ने भएकाले प्रभावित होटलका लागि बजेटको पहिलो प्राथमिकता अति प्रभावित उद्योगका रुपमा यसको संरक्षण र सम्बद्र्धनमा केन्द्रित हुनुपर्ने हानको भनाइ छ ।
साथै संरक्षण कोष स्थापना गरिनुपर्ने, विशेष सहुलियत सहितको कर छुट र मिनाहा सम्बन्धी व्यवस्था हुनुपर्ने हानको माग छ । हानले होटलको पुनरुत्थानका लागि ३ वर्षसम्म विशेष कर सहुलियतको व्यवस्था माग गरेको छ । साथै विद्युत् महसुलमा ५० प्रतिशत छुटको व्यवस्थाका साथै कम्तीमा २ वर्षका लागि डिमाण्ड शुल्कमा शतप्रतिशत छुटको माग गरेको छ ।
साथै कर्मचारी तथा श्रमिक कल्याण योजनामा नागरिक लगानी कोषमा जम्मा गरेको रकममध्ये केही रकम बिना ब्याज र पछि फिर्ता नगर्ने गरी झिक्न पाउने व्यवस्था गर्न हानको माग छ ।
साथै हानले आन्तरिक पर्यटनलाई बढावा दिनका लागि सरकारी र संगठित क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई अनिवार्य पर्यटन विदा दिइ नगद आर्थिक प्रोत्साहनसहित घुम्न पठाउँदै आन्तरिक पर्यटनाको प्रबर्द्धन गर्न उपयुक्त हुने तवरा बजेट परियोजना तर्जुमा गरी कार्यान्वयन गर्न माग गरेको छ ।