कोरोना असरः र्याडिसन होटलको खुद नाफा २८४.०९ प्रतिशतले घट्यो
काठमाडौं । कोरोना महामारीका कारण लामो समयसम्म बन्द भएको लाजिम्पाटस्थित र्याडिसन होटलको घाटा २१ करोड नाघेको छ ।
कम्पनीले प्रकाशित गरेको चैत महिनासम्मको वित्तीय विवरण अनुसार कम्पनीको घाटा २१ करोड ११ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले गत डिसेम्बर महिनासम्म यस्तो घाटा १४ करोड रुपैयाँ मात्रै थियो ।
कम्पनीले चालु आवको चैत महिनासम्ममा गत चालुको सोही अवधिको तुलनामा ९०.७९ प्रतिशत आम्दानी कम भएको छ । साथै खुद नाफामा २८४.०९ प्रतिशतले कमी आएको छ ।
कम्पनीले कोरोना महामारीका कारण होटलको आम्दानीमा ठूलो असर परेको र हालसम्म पनि बन्दाबन्दीका अवस्थमा रहेको जनाएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १८.७२ रुपैयाँ नकारात्मक छ भने प्रतिसेयर नेटवर्थ १७८.७७ रुपैयाँ छ ।
कम्पनीले बाह्य समस्याहरुमा कोरोना भाइरसको पर्यटन क्षेत्रमा परेको असर, देशमा नयाँ होटल निर्माण भइ सञ्चालनमा आउने क्रम बढेको तर सोही अनुसार पर्यटकमा वृद्धि नभएको, अप्रत्याशित रुपमा घट्ने प्रतिकुलताका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रभाव, पर्यटन उद्योगमा देखिने राजनीतिक अशान्ति, अप्रत्याशित रुपमा बन्द हुने हड्ताल, आन्तरिक पर्यटन प्रबद्र्धनको कमी तथा पर्यटकीय सार्वजनिक यातायातको अभाव तथा अन्तर्राष्ट्रिय हवाई सिट क्षमतामा न्यूनताबाट पर्ने प्रत्यक्ष प्रभावलाई मानेको छ । साथै पर्यटन भौतिक पूर्वाधारको विकासको कमी, विदेशी मुद्राको विनिमय दरमा हुने उतारचढावलाई समस्या मानेको छ ।
होटलको चुक्तापुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार ४३७ रुपैयाँ छ भने रिजर्भ एन्ड सर्पल्समा ८८ करोड ८५ लाख रुपैयाँ छ ।