होटल सोल्टीलाई ‘दि सोल्टी होटल’का नाममा पुनर्ब्रान्डिङ गरिने



काठमाडौं । पाँचतारे होटल सोल्टीलाई ‘दि सोल्टी होटल’का नाममा पुनर्ब्रान्डिङ गरिने भएको छ ।

वैशाख ३१ गते इन्टरकन्टिनेन्टल होटल ग्रुप (आईएचजी)सँगको व्यवस्थापन सम्झौता सकिएपछि दि सोल्टी होटलका रुपमा पुनर्ब्रान्डिङ गर्न लागिएको हो ।

विगत ५४ वर्षदेखि निरन्तर नेपालको आथित्य उद्योगमा अग्रणी संस्थाका रुपमा रहेको सोल्टीलाई अब नयाँ व्यवस्थापनमा ब्रान्डिङ गर्न लागिएको हो ।

दि सोल्टी होटलका अतिरिक्त यस कम्पनीको स्वामित्वमा एलएसजी स्काई सेफ काठमाडौं पनि रहनेछ । जुन नेपालको एक मात्रै नन–फ्लाइट क्याटरिङ सेवा प्रदायक संस्था हो । यो कम्पनीले होराइजन लाउञ्ज इक्जिक्युटिव लाउञ्ज, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान टर्मिनल भवन काठमाडौंमा सञ्चालन छ ।

कम्पनीे नेपालगञ्जमा सोल्टी वेष्टेण्ड प्रिमियर पाँचतारे होटल पनि स्थापित गरेको छ । उक्त होटल अमेरिकाको यूएस ग्रीन विल्डिङ काउन्सिलिङबाट लिड प्रमाणिकृत नेपालको एक मात्रै होटल हो ।

सोल्टी होटल २०२३ सालमा काठमाडौंको ताहचलमा स्थापना भएको हो । १२ एकर जमिनमा फैलिएको यो होटलमा २८५ वटा पाहुना कोठा र विशिष्ट स्तरका सुइटहरु छन् ।

साथै नेपालमा सम्पन्न भएको पहिलो सार्क शिखर सम्मेलनको आयोजना गर्नुपूर्व सो सम्मेलनका लागि विशेष रुपमा डिजाइन गरी निर्माण गरिएका ७ वटा वैभवपूर्ण राजकीय सुइटहरु समेत होटलमा छन् ।

होटलमा अत्याधुनिक सुविधा सम्पन्न १० वटा बैठक तथा सभा सम्मेलन कक्षहरु छन् जसमा लगभग २ हजार जनाभित्र र ३ हजार जना बाहिर समायोजन गर्न सकिने क्षमताको पर्याप्त स्थान छ ।


क्लिकमान्डु