नेपाल टेलिकमको सेवा वापतको आम्दानी बढ्यो



काठमाडौं । दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको सेवा वापतको (भ्वाइस, डाटा र एफटीटीएच) आय बढेको छ ।

गत आर्थिक वर्ष २०७६/७७ को तृतीय त्रैमासिकको अवधिको तुलनामा चालु आव २०७७/७८ मा नेपाल टेलिकमको सेवा वापतको आय बढेको हो ।

गत आवको तृतीय त्रैमासिकको तुलनामा नेपाल टेलिकमको सेवा वापतको आम्दानी २.२९ प्रतिशतले बढेको कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।

गत आवको सोही अवधिमा कम्पनीले सेवा वापत २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार रुपैयाँ आम्दानी गरेको थियो । भने, चालु आवको तृतीय त्रैमासिकसम्म २७ अर्ब ४५ करोड १३ लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोहि अवधिको तुलानामा चालु आवमा कम्पनीले ६१ करोड ४७ लाख ७ हजार रुपैयाँले सेवा वातपतको आम्दानी बढेको छ ।

गत वर्षको तेस्रो त्रैमासिकमा कम्पनीले सेवा वापत ८ अर्ब ७९ करोड ७० लाख ६९ हजार रुपैयाँ अम्दानी गरेको थियो । चालु आवको सोही अवधिमा सेवा वापतको आम्दानी ९२ करोड ९३ लाख ७० हजार रुपैयाँले बढाउँदै कम्पनीको आय ९ अर्ब ७२ करोड ६४ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

नेपाल टेलिकमका प्रवक्ता रोजेश जोशीका अनुसार टेलिकमका सेवाग्राही बढेकाले सेवा वापतको आम्दानी वृद्धि भएको बताउँछन् ।

‘डाटा, भिडियो र भ्याइस सहितको एफटीटीएच सेवा विस्तारमा टेलिकमले आक्रमक रणनीति अपनाएको छ’, जोशीले भने, ‘उपभोक्ताको पनि एफटीटीएच सेवामा आकर्षण बढेको छ । फोरजी उपभोक्ताका साथै मोबाइल प्रयोगकर्ता बढेका छन् ।’

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले पनि पछिल्लो एक वर्षमा नेपाल टेलिकमको ग्राहक बढेको देखाउँछ । २०७६ माघमा टेलिकमको एफटीटीएच ग्राहक ९७ हजार ४२५ जना थिए र २०७७ माघमा त्यो संख्या ४ लाख ४३ हजार ४७५ पुगेको छ । २०७६ माघमा नेपाल टेलिकमको फोरजी ग्राहक ८ लाख ४२ हजार ५४३ रहेकोमा २०७७ माघमा ३ गुणाले बढेर २५ लाख ४४ हजार ७२४ पुगेको छ ।

चालु आवको प्रथम त्रैमासिकमा ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार रुपैयाँ र द्वित्तीय त्रैमासिकमा ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार रुपैयाँ सेवा वापतको आय प्राप्त भएको थियो । चालु आवको तृतीय त्रैमासिक अवधिमा कुल सेवा वापतको आय द्वितीय त्रैमासिकको भन्दा ७ प्रतिशत अर्थात ६३ करोड ६८ लाख ६५ हजार रुपैयाँले वृद्धि भएको छ ।

कम्पनीले चालु आवको प्रथम त्रैमासिकमा १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार र द्वितीय त्रैमासिकमा १ अर्ब ७७ करोड १६ लाख २५ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । दोस्रो त्रैमासिकको तुलनामा ८२ करोड ३४ लाख ५२ हजार रुपैयाँले खुद मुनाफा वृद्धि हासिलगरी २ अर्ब ५९ करोड ५० लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

गत आवको तृतीय त्रैमासिकसम्मको कम्पनीको कुल आय ३२ अर्ब २७ करोक्ष् २३ लाख २३ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा कुल आय ३१ अर्ब ६७ करोड ३७ लाख ७३ हजार रुपैयाँ छ । गत आवको तृतीय त्रैमासिक सम्मको खुद मुनाफा ७ अर्ब ५६ करोड ५५ लाख १५ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा खुद मुनाफा ५ अर्ब ८८ करोड ४४ लाख ७१ हजार रुपैयाँ छ ।

कोभिड–१९ को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा टेलिकम व्यवसायको व्यपारमा कमी आएको छ । बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो वर्षको तुलनामा चालु आवमा घट्न गएको हुंदा व्याज आम्दानीमा कमी आउँदा पनि खुद मुनाफा घटेको कम्पनीले जानकारी दिएको छ ।

कोभिड–१९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि सस्तो मूल्यमा डाटा प्याकेज उपलव्ध गरिएको हुंदा अघिल्लो वर्षको तुलनामा डाटाको उपभोग बढे तापनि राजश्व आशातित रुपमा वृद्धि हुने अवस्था नरहेको कम्पनीको भनाइ छ । अन्तर्राष्ट्रिय रोमिङ सेवामा अभुतपूर्व गिरावट आएको तथा ओटीटीको वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्धता सेवामा भारी गिरावट आएकोले पनि नाफा घटेको कम्पनी दावी छ ।


क्लिकमान्डु