डिजिटल क्रान्तिः कनेक्ट आइपीएस, इकमर्श, क्यूआर, माेबाइल बैंकिङको कारोबारमा उछाल



काठमाडौं । पछिल्लो एक वर्षको आँकडा विश्लेषण गर्ने हो भने नेपालमा डिजिटल भुक्तानी प्रणालीमा क्रान्ति देखिएको छ । एक वर्ष अघिसम्म लाखौं र करोडमा हुने कारोबार यतिबेला अर्बौमा हुन थालेको छ ।

कोरोना भाइरस महामारीका कारण लागू भएका लकडाउन र निषेधाज्ञाका कारण बन्द भएका बैंक तथा वित्तीय संस्थाका कारण डिजिटल कारोबारमा उछाल देखिएको छ । जसमा अघिल्लो वर्षमा नेपाल राष्ट्र बैंकले लिएको नीति डिजिटल क्रान्तिको बाटोमा सहयोगी बनेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरकारी बजारसम्म पुगेर क्यूआर कोडका लागि गरेको प्रबद्र्धन तथा बैंक तथा वित्तीय संस्थाले त्यसका लागि लिएको अग्रसरता नै डिजिटल क्रान्तिका लागि सहयोगी बनेको छ ।

क्यूआरबाट २ अर्ब बढीको भुक्तानी

डिजिटल क्रान्तिको नेपालमा प्रयोग भइरहेको पछिल्लो प्रणालीमध्येको एक हो क्यूआर कोड स्क्यान । खल्तीमा पैसा बोकिरहनु पर्ने झण्झटबाट मुक्त हुँदै मोबाइलको एपबाट सजिलै भुक्तानी गर्ने यो प्रणाली अहिले निकै लोकप्रिय हुँदै गएको छ भने दिनप्रतिदिन प्रयोगकर्ता, कारोबार संख्या र रकम बढ्दै गएको छ ।

तरकारी बजार, पान पसलदेखि कफी सप हुँदै डिपार्टमेन्टल स्टोरसम्म यतिबेला क्यूआर स्क्यान कोडको प्रयोग व्यापक हुन थालेको छ । जसले गर्दा कारोबारर संख्या र रकम दुबैलाई बढाएको छ ।

चालु आवको पहिलो महिना असारमा क्यूआर कोडबाट भुक्तानी रकम जम्मा ५८ करोड ९० लाख रुपैयाँ थियो । जुन चैत महिनासम्म आइपुग्दा बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । चैत महिनामा क्यूआर कोडाबाट भएको कारोबार संख्या ७ लाख ८२ हजार पुगेको छ जबकी गत असारमा क्यूआर कोडबाट भएको कारोबार संख्या १ लाख ९५ हजार थियो ।

इकमर्शको व्यापार १ अर्ब बढी
गत वर्षको लकडाउनमा बढेको इकमर्शको व्यापार असारपछि सुस्ताएको थियो । मानिसहरु भौतिक रुपमै उपस्थित भएर व्यापार गर्न थालेका थिए । तर कोरोना महामारीको दोस्रो लहर शुरु हुने बित्तिकै इकमर्शको व्यापार बढ्न थालेको छ ।

निषेधाज्ञाको समयमा आवश्यक खाद्यान्नका लागि सबैभन्दा भरपर्दो र उपयुक्त विकल्प अनलाइन सपिङ साइटहरु बनेका छन् । गत असार महिनामा इकमर्श व्यवसायले १ अर्ब २० करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेकोमा त्यसपछि भने कारोबार रकम घट्दै गएको थियो । तर चैत महिनामा भने फेरि १ अर्बभन्दा माथिको व्यापार भइसकेको छ । यसले इकमर्शको कारोबार आगामी दिनमा अझै बढ्ने देखिएको छ ।

मोबाइल बैंकिङ
बैंक तथा वित्तीय संस्थाका कार्यालयमा भौतिक रुपमै उपस्थित हुनुपर्ने, एटीएम गइरहने झण्झटबाट मुक्त हुँदै मोबाइलको एपमार्फत् कारोबार गर्ने बढेका छन् । मानिसहरु पैसा भुक्तानी गर्न, रकम पठाउन तथा विभिन्न प्रकारका बिल भुक्तानी गर्नका लागि मोबाइल बैंकिङको प्रयोग गर्न थालेका छन् ।

गत असार महिनामा १८ अर्ब ८३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा मोबाइल बैंकिङमार्फत् चैत महिनामा मात्रै ४८ अर्ब ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तो रकम फागनु महिनामा ४० अर्ब ३५ करोड ९० लाख रुपैयाँ थियो ।

कनेक्ट आइपीएस
कनेक्ट आइपीएसमार्फत् हुने कारोबार रकम पनि यस अवधिमा निकै बढेको छ । गत असार महिनामा कनेक्ट आइपीएसमार्फत् जम्मा ५१ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । जबकी गत चैत महिनामा यो कारोबार रकम बढेर १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । फागुन महिनामा यस्तो कारोबार रकम १ खर्ब ४ अर्ब रुपैयाँ थियो । कारोबार संख्याका हिसाबले पनि असारमा ६ लाख ९६ हजार रहेकोमा चैत महिनामा २० लाख ३८ हजारभन्दा बढी पुगेको छ ।


क्लिकमान्डु