नागरिकए एपमा ८० वटा नयाँ सेवा थपिँदै, बाग्मती प्रदेशको कर तिर्न पाइने



काठमाडौं । नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने भएका छन् ।

प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलिका अनुसार ६ महिनाभित्र अधिकांश सरकारी भुक्तानी यही एपबाट गर्न लागिएको बताए ।

शनिबार भएको दोस्रो चरणको डिजिटल संवाद कार्यक्रममा बोल्दै अलीले विभिन्न तीन चरणमा नागरिक एपमा सेवा सुविधाहरु थप गर्दै जाने बनाए ।

केही समयमा नै बाग्मती प्रदेश अन्तर्गत यातायातको कर तिर्ने व्यवस्था शुरु गर्न लागेको जानकारी दिदै उनले खानेपानीदेखि चौमासिक, अर्थ वार्षिक, वार्षिक कर दिर्ने र अन्य सरकारी सेवाहरु लिने सबै सुविधा यसै एप मार्फत उपलब्ध गराउन लागेको पनि बताए ।
त्यस्तै, विद्यार्थीको सुविधाका लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्व विद्यालय पनि यस एपमा चाँडै नै जोडिन लागेको उनले जानकारी गराए ।

तीन महिनामा नेपालमा पहिलोपटक बिना कुनै कागजात १० हजार जनाले प्यान नम्बर लिएर यसको सफल उदाहरण पेश भएको भन्दै अहिले नागरिक एपबाट बैंक खाता खोल्ने व्यवस्था पनि गरिएको जानकारी दिए ।

‘नागकिर एपमा यी दुई कुरा सफलताका उदाहरण हुन,’ उनले भने, ‘यही सफलतालाई आधार मानेर थप सुविधाहरु थपिदै छ ।’

सुविधा थप्दै, डेटा क्लिन गर्दै कार्यान्वयन गर्दै जाने अलीले बताए । यसको लागि तीन चरणमा काम हुने बताए । पहिलो चरणमा डाटा क्लिन गर्ने, दोस्रो चरणमा इन्टिग्रेसन र तेस्रो चरणमा पूर्ण कार्यान्वयन हुने बताए ।

नागरिक एप बनाउन शुरुदेखि काम गरिरहेका अलीले यो एप बनाउन नेपाल सरकारको एक रुपैयाँ पनि खर्च नभएको बताए ।

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा आइटी महाशाखा प्रमुख अनिल दत्तले मन्त्रालयले नागरिक एपलाई डिजिटल नेपालसँगै जोडेर प्राथमिकताको साथ आगाडि बढाइरहेको बताए ।

उनले नागरिक एपको निर्देशिका पारित हुने क्रममा रहेको पनि जानकारी गराए । त्यस्तै, एपको सुरक्षाका लागि अडिट र हरेक सेवा थप्दा सेक्युरिटी परीक्षण गरिरहेको बताए ।

डेटा क्लिनको लागि गृह मन्त्रालयमा सिस्टम विकास भएको र त्यसमा सुधारको काम भइरहेको बताए ।

‘भविश्यमा नेशनल आइडी कार्डमा जोडिने तयारी छ । यसले गर्दा डेटाको समस्या नहुने र प्रमाणिकरण सहज हुनेछ,’ उनले भने ।

आजसम्म ६ लाख २५ हजारले यो एप डाउनलोड गरेको र २ लाख बढिको भेरिफाइ भएको दत्तले बताए ।

क्यान महासंघका अध्यक्ष नवराज कुँवरले नागरिक एप कार्यान्वयनमा मुख्य तीन कुरामा ध्यान दिनु पर्ने बताए ।

पहिलो सूचना तथा सञ्चार प्रविधिको पूर्वाधार ग्रामीण भेगसम्म पुग्नु पर्ने बताए । अहिले इन्टरनेट र स्मार्टफोन भएकालाई मात्र नभएर पहुच नभएकालाई पनि सेवा दिनुपर्ने उनकोधारणा थियो ।

दोश्रो, नागरिक एप र अन्य सेवासँगै डिजिटल साक्षरतालाई अगाडि बढाउनुपर्नेमा जोड दिए । यसको लागि क्यान महासंघले सहकार्य गर्न तयार रहेको र सरकारले जिनी क्षेत्रसँग सहकार्य गरेर काम गर्नुपर्ने बताए ।

त्यस्तै, उनले दक्ष जनशक्तीको आवश्यकतालाई औल्याए । सरकारी कर्मचारी प्रविधिमैत्री हुन नसकेको भन्दै त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री गणेश शाहले नागरिक एप डिजिटल नेपालको लागि एक महत्वपूर्ण प्लाटफर्मको रुपमा विकास भइरहको हुदा सरकारले उच्च प्राथमिकतामा राख्दै काम गर्नुपर्ने बताए ।

जनताले यसबाट लाभ लिन सक्नुपर्छ अनिमात्र नतिजा देखिने शाहको भनाइ थियो ।
कार्यक्रममा सहभागिले नागरिक एपको प्राविधिक पक्ष, डेटा सुरक्षा र नागरिकता नम्बरबाट तथ्यांक उपलब्ध नभएको गुनासो गरेका थिए ।

सरकारले मेहनत र चुनौतीका साँथ ल्याइएको यस एप्लिकेशनको सहि प्रयोग दुरदराजसम्म पुर्याउन आवश्यक रहेको र सरकार तथा कर्मचारी परिवर्तनसँगै यसको कार्यान्वयन रोकिनु नहुने कार्यक्रममा सहभागिले सरोकारवालाको ध्यानाकर्षण गराएका थिए ।

डिजिटल संवाद सुचना प्रविधिको क्षेत्रमा वृहत वहस सञ्चालन गर्ने उद्देश्यले गतवर्षको लकडाउनदेखि सुरु भएको कार्यक्रम हो ।

नागरिक एप नेपाल सरकारले प्रविधिमार्फत हातहातमै सरकारी सेवा दिने उदेश्य सहित सुरु गरेको एप्लिकेशन हो । एपको वेटा भर्सन केही महिनाअघि सार्वजनिक भएपनि गत बैशाख १९ गते प्रधानमन्त्रीले यसको फुल भर्सन सार्वजनिक गरेका थिए । जनताले सेवा लिने केन्द्रीय, प्रदेशसँगै स्थानिय निकायका ९० प्रतिशत कामहरु एपमार्फत नै उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

अबको ३ वर्षमा एपमा अधिकांश सुविधाहरु उपलब्ध हुनेगरी काम भइरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । राष्ट्रिय सुचना प्रविधि केन्द्रमा होस्ट गरिएको एप्लिकेशन सञ्चालनमा अहिले एक दर्जन बढि जनशत्ती कार्यरत रहेका छन् ।

निर्देशिका पारित भएसँगै ४० बढि जनशत्ती तयार गरी २४ घण्टा सेवा दिने मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु