भारतबाट आउने यात्रुलाई क्वारेन्टिन राख्न ८ होटल तयार, एकजनाले ३० हजार खर्चनु पर्ने



काठमाडौं । सरकारले भारतबाट आउने यात्रुलाई राख्नका लागि ८ वटा होटलका ४२८ वटा कोठा तयार पारेको छ ।

पर्यटन मन्त्रालयका अनुसार भारतसँग भएको एयर बबल सम्झौता अनुसार हवाई मार्ग भइ नेपाल आउने यात्रुलाई १० दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने सम्झौत अनुसार ती यात्रु राख्नका लागि होटल तयार पारिएको हो ।

मन्त्रालयका अनुसार ८ वटा होटलमा गोदावरीस्थित भ्यू भृकुटी, गुहेश्वरस्थित माधव होटल, एयरपोर्टस्थित एयरपोर्ट होटल, गौशलामा रहेका आमादब्लम, रिडर्स इन, आनन्द आश्रम र जगातीमा रहेका फार्म हाउस रिसोर्ट र ए वान रिसोर्ट क्वारेन्टिनका लागि तयार छन् ।

मन्त्रालयका अनुसार विमानसस्थलबाट होटलसम्म लैजानुका साथै खाना तथा बसोबासको व्यवस्था गर्ने गरी मिलाइएको छ । एयरपोर्ट पिकअप, लजिङ र फुडिङसहित बढीमा प्रतिव्यक्ति प्रतिदिन ३ हजार रुपैयाँ लिन सक्ने गरी होटलको दर समेत कायम गरिएको मन्त्रालयको भनाइ छ ।

यात्रु र होटलले स्वास्थ्य मापदण्डको पालना गरे नगरेको सम्बन्धमा पर्यटन विभागका महानिर्देशक, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत र नेपाल प्रहरीको संयुक्त टोलीले अनुगमन गरी सोको दैनिक प्रतिवेदन नियमित रुपमा सीसीएमसी, पर्यटन मन्त्रालय र गृह मन्त्रालयमा पेश गर्नुपर्नेछ ।


क्लिकमान्डु