चीन र अमेरिकाको विवादबीच टिकटकमा नयाँ सीइयो नियुक्त



एजेन्सी । शर्ट भिडियो प्लेटफर्मको रुपमा रहेको टिकटकले नयाँ प्रमुख कार्यकारी अधिृकत पाएको छ । अमेरिका र चीनबीचको व्यापार युद्धका कारण संसारका केही देशमा प्रतिबन्धको शिकार भएको टिकटकको व्यवस्थापनका लागि नयाँ प्रमुख कार्यकारी नियुक्त गरिएको जनाइएको छ ।

बाइटडान्स अनुसार नयाँ नियुक्त भएका सीइओको नाम शोउजी चेउ हो । उनी यसअघि बाइटडान्सको प्रमुख वित्तीय अधिकृतको रुपमा प्रवेश गरेका थिए । शोउजीसँग यसअघि चिनियाँ स्मार्टफोन कम्पनी शाओमीको उच्च कार्यकारी तहमा काम गरेका थिए ।

कम्पनीका अनुसार चेउ आफै प्रविधि उद्योगको बारेमा राम्रो जानकार रहेकाले पनि दीर्घकालीन रुपमा व्यवसाय विस्तार हुने छ ।

उनी सिंगापुर रहेर काम गर्दै आएका थिए । उनले सिंगापुरस्थित टिकटक कार्यालयबाटै काम गर्ने बताइएको छ । अमेरिकी मूलको नै प्रमुख कार्यकारी आवश्यक पर्छ भन्ने मान्यतालाई समेत यसले खारेज गरिदिएको छ ।

यसअघि टिकटकले डिज्नी कम्पनीका पूर्व व्यवस्थापक केभिन मायरलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । तर उनले अमेरिका र चीनबीचको व्यापार युद्ध बढेको तथा काम गर्ने अवस्था नभएको भन्दै ३ महिना कार्यकाल नै पूरा नहुँदै जागिर छाडेका थिए ।

कूल २ अर्ब पटक डाउनलोड भएको टिकटकमा झण्डै ६९ करोड सक्रिय प्रयोगकर्ता छन् ।


क्लिकमान्डु