नागरिक एपको शुरुवात, नागरिकको सबै विवरण एकै ठाउँमा, यस्ता छन् अन्य सुविधा



काठमाडौं । सरकारले आजदेखि औपचारिक रुपमा नागरिक एपको शुरुवात गरको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमका बीच यसको औपचारिक रुपमा शुरुवात गरेका छन् ।

अधिकांश सरकारी सेवा तथा सुविधा एउटै एपबाट दिने उद्देश्यले सरकारले गत माघ २ गते नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको थियो ।

जसमा हालसम्म सवा ५ लाखभन्दा बढी डाउनलोड भइसकेको छ भने १ लाख ९१ हजारभन्दा बढीले दर्ता गरिसकेका छन् । एपबाट हालसम्म ३ हजारभन्दा बढीले प्रहरी क्लियरेन्स रिपोट लिएका छन् भने १० हजारभन्दा बढीले स्थायी लेखा नम्बर (प्यान नम्बर) लिइसकेका छन् ।

डिजिटल नेपाल निर्माणको अभियान अन्तर्गत अधिकांश सेवा डिजिटलमाध्यमबाट उपलब्ध हुन थालेको छ । त्यसका लागि छुट्टाछुट्टै वेवसाइट तथा एप प्रयोग गर्न झन्झटिलो हुने भएपनि सरकारले नागरिक एप ल्याएको हो ।

यसमा व्यक्तिको नागरिकता, राहदानी र मतदाता परिचयपत्रको विवरण हुनेछ ।

नागरिकले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष तथा सामाजिक सुरक्षा कोषमा भएको आफ्नो विवरण पनि नागरिक एपमा हेर्न सक्नेछन् ।

त्यसका साथै हेलो सरकारको सुविधा पनि यसमा जोडिएको छ । एसएलसी र प्लटु तहका शैक्षिक विवरण पनि यसमा राखिएको छ भने पछिल्लो समयमा स्वास्थ्य बीमा सम्बन्धि जानकारी पनि यसमा सुविधा थपिएको छ ।

नागरिक एपको बेटा भर्सन सार्वजनिक भएसँगै स्थायी लेखा नम्बर लिने सुविधा रहेकोमा अब यसैबाट प्रहरी क्लियरेन्स रिपोर्ट पनि लिन सकिनेछ ।

प्रयोगकर्ताले इमेल भेरिफाइ गरेर आफ्नो नागरिक एपमा लिंक गराउन सक्नेछन् । नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमका नम्बरबाट यसमा खाता खोल्न सकिन्छ तर यसका लागि सीम भने आफ्नो नाममा हुनु अनिवार्य छ ।

खाता खोल्ने क्रममा नागरिकता फेला नपरे वा त्रुटी भएमा त्यसको समाधानका लागि अनुरोध गर्न सकिने छ । मतदाता परिचय पत्र, राहदानी, प्यान र शैक्षिक विवरणमा कुनै त्रुटी देखिएमा सच्चाउन सकिनेछ ।

त्यसका साथै सवारी साधनको राजस्व र नवीकरण शुल्क पनि यही एपबाट बुझाउन सकिनेछ । साथै आफ्नो लालपुर्जा र जग्गाको कित्ता अनलाइनमा हेर्न, प्रिन्ट गर्न र राजस्व बुझाउन सकिनेछ ।

भूमिसुधामा भएको आफ्नो जग्गाको अवस्था थाहा पाउन सकिनेछ । साथै स्थानीय सेवाबाट सिफारिस लिने र कर तिर्न पनि एपबाटै पाइनेछ । साथै नागरिक पहिचान परिचय प्रमाणिकरण गर्न सकिने क्यूआर कोडा राखिनेछ भने एपबाटै बैंक खाता खोल्न पाइने सुविधा समेत राखिएको छ ।

त्यसका साथै अब एपबाटै लोकसेवा आयोगको फारम भर्ने, सीम कार्ड खरिद गर्ने र सरकारी तथा सार्वजनिक सेवाको काम पनि प्रयोगमा ल्याइने छ । हालसम्म मोबाइलमा मात्रै उपलब्ध यो एपको सुविधा वेवसाइटबाट पनि लिन सकिनेछ ।

सरकारी कार्यालय वा बैंक तथा वित्तीय संस्था, सार्वजनिक सेवा प्रवाह गर्ने निकाय होस वा शिक्षण संस्था नागरिकको पहिचान प्रमाणिकरण झन्झटिलो हुने गर्छ । त्यसका साथै अन्य कुनै कामका लागि नागरिकताको फोटोकपी वा कागजात, पासपोर्ट साइजको फोटो बोक्नुपर्ने बाध्यता एपले हटाउनेछ ।

एपमा नागरिकताको नागरिकता, राहदानी, मतदाता परिचयपत्र जस्ता विवरणहरु जोडिएका छन् । यसका लागि नागरिक एपमा माथि दायाँ कुनामा क्यूआर कोड स्क्यानको सेवा छ । अब कुनै पनि सेवा लिन व्यक्तिगत कागजात बुझाउनु पर्ने बाध्यता हटेको छ । अब उक्त क्यूआर कोड स्क्यान गरी लोकसेवा आयोगको फारम, हवाई जहाजको टिकट खरिद गर्दा, सीम कार्ड लिन छुट्टै फारम भर्नु नपर्ने सुविधा एपले ल्याएको छ ।

एपमा व्यक्तिगत विवरण ५ भागमा वर्गीकरण गरिएको छ । जसमा प्रोफाइलमा व्यक्तिको नाम, ठेगाना, जन्ममिति, लिंग, मोबाइल नम्बर, इमेल र तस्बिर राखिएको छ । त्यसैगरी नागरिकता राहदानी, प्यान, शैक्षिक प्रमाणपत्र पनि राखिएको छ ।

नागरिकलाई सेवा दिने कार्यालयहरु एपमा क्लाइन्टका रुपमा सूचिकृत हुन्छन् । जसलाई एपले नागरिकको आवश्यक जानकारीमा मात्रै पहुँच दिन्छ । एपबाट नागरिक पहिचान प्रमाणिकरण गर्दा व्यक्तिगत विवरतणको प्रतिलिपि लैजान पाउँदैनन् । पहिचान प्रमाणित गर्दा क्यूआर स्क्यान गर्दा कुन कुन व्यक्तिगत विवरणमा पहुँच पुर्याउन खोजेको देखिन्छ र त्यो आफैले निर्धारण गर्न सकिनेछ ।

हाल एपमार्फत् नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न पाइनेछ भने आगामी दिनमा अन्य बैंकसँगको पहुँच पनि बिस्तार गर्न सकिनेछ ।


क्लिकमान्डु