फाइभ जी र नमस्ते पेको परीक्षण शुरु, प्रधानमन्त्रीले अनलाइनबाट बैंक खाता खोल्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनलाइनबाटै नेपाल बैंकमा बैंक खाता खोल्ने भएका छन् । डिजिटल नेपालको अभियान अन्तर्गत अनलाइनबाटै बैंक खाता खोल्ने शुरुवात स्वरुप प्रधानमन्त्री ओलीले आइतबार नेपाल बैंकमा बैंक खाता खोल्ने भएका हुन् ।

सूचना प्रविधि दिवसको अवसरमा आइतबार आयोजित भर्चुअल कार्यक्रममा सञ्चारमन्त्री पार्वत गुरुङले उक्त जानकारी दिए ।

‘अनलाइनबाटै बैंक खाता खोल्ने, केवाई पनि अनलाइनबाटै भर्न मिल्ने सेवाको शुरुवात आजबाटै प्रधानमन्त्रीबाट हुनेछ,’ उनले भने ।

यसअघि बेटा भर्सनमा शुरुवात गरिएको नागरिक एपको पनि आज औपचारिक रुपमा शुरुवात गरिने उनले जानकारी दिए ।

आजैदेखि फाइभ जी शुरुवात
मन्त्री गुरुङले आजैदेखि फाइभ जीको परीक्षण शुरुवात भएको जानकारी दिए । उनले तत्कालका लागि नेपाल टेलिकमबाट फाइभ जीको परीक्षण शुरुवात गरिने बताए ।

‘अहिले हामीले फोरजी सेवा ७७ वटै जिल्लामा पुर्याइसकेका छौं, यद्यपि केही जिल्लामा अझै समस्या छ,’ उनले भने ।

नमस्ते पेको परीक्षण शुरु
नेपाल टेलिकमको डिजिटल पेमेन्ट ‘नमस्ते पे’को पनि परीक्षण शुरुवात गरिने गुरुङले जानकारी दिए ।
‘प्राविधिक कारण त्यसको शुरुवात गर्न सकिएन । यद्यपि आजदेखि परीक्षण भने शुरु हुन्छ,’ उनले भने ।

सूचना विभागको पास नवीकरण अनलाइनबाटै
मन्त्री गुरुङले अब पत्रकारहरुले सूचना तथा प्रसारण विभागको पास नवीकरण गर्नका लागि कार्यालय धाउनु नपर्ने बताए । उनले अब अनलाइनबाटै पास नवीकरण गर्न सकिने बताए ।

अनलाइनबाटै सवारी कर
मन्त्री गुरुङले अनलाइनबाटै अब सवारी साधनवापतको कर बुझाउन सकिने गरी सेवा शुरुवात गरिने जानकारी दिए । यो सेवा कानून पारित भएसँगै त्यसको पनि शुरुवात गरिने जानकारी दिए ।


क्लिकमान्डु