दूरसञ्चार प्राधिकरणको सेवा अनलाइनमार्फत् प्रवाह हुने

क्लिकमान्डु २०७८ वैशाख १५ गते १७:३५ मा प्रकाशित

काठमाडौं  । नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रवाह हुने सबै सेवा आजदेखि अनलाइनमार्फत् हुने भएको छ । प्राधिकरणमा कार्यरत आठजनाभन्दा बढी कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सबै काम अनलाइनमार्फत् हुने भएको हो ।
प्राधिकरणले एक सूचना जारी गरी अर्काे सूचना जारी नहुँदासम्म हाल हुँदै आएका सम्पूर्ण कार्य अनलाइनमार्फत् हुने जनाएको हो ।

प्राधिकरणका प्रवक्ता सन्तोेष पौडेल प्राधिकरणबाट प्रवाह हुँदै आएका सेवाका लागि सेवाप्रदायक कम्पनीहरुले अनलाइनमार्फत् जानकारी गराउनुपर्ने बताए ।

‘हामीले अनुमतिपत्र प्राप्त सबै सेवा प्रदायक कम्पनीलाई प्राधिकरणबाट हुने कार्यका लागि सहजीकरण गर्छौं । यसअघि हुँदै आएको सबै नियमित कामहरु यथावत् हुन्छ । आवश्यक कामका लागि प्राधिकरणको इमेलमा अनलाइनमार्फत जानकारी गराउनुपर्ने हुन्छ.’ उनले भने ।

‘प्राधिकरणको सेवा सञ्चालन मार्गदर्शन, २०७७ मा उल्लेख भएअनुससार बढीमा एक तिहाइ कर्मचारीको उपस्थितिमा सेवा प्रदान गर्ने भन्ने व्यवस्था भए तापनि हाल प्राधिकरणका आठ जनाभन्दा बढीमा कोरोना देखिएको छ । अन्य कर्मचारीमा सङ्क्रमण अझ बढ्न सक्ने भएकाले कोभिड-१९ को दोस्रो चरणको सङ्क्रमणलाई ध्यानमा राख्दै आजदेखि प्राधिकरणबाट हुने सबै काम ‘वर्क फर्म होम’को व्यवस्थाअनुसार मिलाइएको हो,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

प्रवक्ता पौडेलका अनुसार घरबाटै काम गर्ने कर्मचारीहरुले बिहान १० देखि बेलुका ५ बजेसम्म अनलाइनमा बसी अफिस अटोमेशन सिस्टमबाट काम गर्ने व्यवस्था मिलाइएको छ ।

घरबाटै काम गर्ने कर्मचारीले ई-हाजिरी प्रणालीमार्फत् अनिवार्यरुपमा हाजिर गर्नुपर्ने बताए । यदि कार्यालयलाई आवश्यक परेको खण्डमा महाशाखा प्रमुखको निर्देशनमा भौतिक रुपमा उपस्थित भई कार्यालयको कामकाज गर्नुपर्ने छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स