१२ अर्ब रुपैयाँमा स्मार्ट टेलिकमको ८० प्रतिशत जापानको ओसीसीले किन्ने



काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमको सेयर जापानको ओसियन केवल एण्ड कम्युनिकेशन(ओसीसी कर्पोरेशन)ले किन्ने भएको छ ।

कम्पनी सम्बन्ध स्रोतका अनुसार स्मार्ट टेलिकमको ओसीसीले बहमुत सेयर १२ अर्ब रुपैयाँमा किनेर प्रवेश गर्न लागेको हो ।

मोबाइल सेवा प्रदायक कम्पनीमा तेस्रो बजार हिस्सा लिएको स्मार्टको ग्राहक बढाउने योजना देखिएको छैन । सरकारलाई बुझाउनुपर्ने रोयल्टीको लागि हरेक पटक सिमा बढाउदै लगेको छ । पछिल्लो समय असार मसान्तभित्रमा स्मार्टले आफुले बुझाउनुपर्ने रोयल्टी नबुझाएमा स्मार्टको लाइसेन्स सरकारको स्वामित्वमा जाने छ ।

स्मार्टका लगानीकर्ताले सूचना तथा संचार मन्त्रालयमा जापानको ओसीसी कर्पोरेशनले सेयर किन्ने विषयमा जानकारी दिएको छ ।

डिल प्रक्रियासँग जानकार स्रोतले क्लिकमाण्डूलाई दिएको जानकारी अनुसार स्मार्ट टेलिकमको ८० प्रतिशत सेयर किन्ने विषयमा २ महिना अगाडि नै सम्झौता भएको हो ।

जसको सम्पत्ति र दायित्वको मूल्याकनमा नेपाली चार्टर्ड एकाउन्टेन्स् सुवास झुनझुनवालाको फर्मले गरेको थियो । स्मार्टको डिडिए रिपोर्ट समेत तयार भइसकेको छ ।

‘ओसीसी नेपालमा सिधै नआएर दुबई मार्फत आउने हो, २० प्रतिशत सेयर नेपाली लगानीकर्ताको रुपमा स्मार्टको अहिलेका लगानीकर्ता नै हुने छ,’स्रोतले क्लिकमाण्डूसँग भन्यो ।
टेलिकममा ८० प्रतिशतसम्म मात्र विदेशी लगानी ल्याउन पाइन्छ । २० प्रतिशत लगानी नेपाली लगानीकर्ताको हुनुपर्ने व्यवस्था छ ।

डिल प्रक्रियामा सहभागी स्रोतका अनुसार ओसीसीले रकम दिएपछि स्मार्टको सरकारलाई बुझाउनुपर्ने बक्यौता भने अहिलेको लगानीकर्ताले तिर्ने छ । स्मार्टको बैंकको ऋणको स्वामित्व नयाँ लगानीकर्तामा जाने छ ।

यस्तो छ स्मार्टको अवस्था

स्मार्ट टेलिकमको सरकारलाई ६ अर्ब ५० करोड रुपैयाँ बक्यौता तिनुपर्ने छ । सरकारले २०७८ साल असार मसान्तसम्ममा बक्यौता रकम तिर्नको लागि अन्तिम पटक म्याद थप गरेको छ । गतवर्षदेखि नै स्मार्टले बक्यौता रकम तिर्नको लागि हरेक पटक अन्तिम भन्दै म्याद थप गराउदै आएको छ ।

यसअघि फागुन मसान्तसम्म स्मार्टले बक्यौता रकम तिर्नको लागि म्याद पाएको थियो । तर,फागुन मसान्तभित्र स्मार्टले बक्यौता रकम नतिरेपछि सरकारले असार मसान्तसम्म थपेको छ ।

स्मार्टको २ लाख २२ हजार ग्राहक छन् । काठमाडौं उपत्यकाको रिंग रोडभित्रमा यसको सर्भिस राम्रो भएपनि कम्पनीको नीतिको कारण ग्राहक बढ्न सकेको छैन ।


क्लिकमान्डु